शीर्षकहरू

नेपाल किन बनेन ? जवाफ छ सिंगापुरको यो गोप्य सुत्रमा

नेपाल किन बनेन ? जवाफ छ सिंगापुरको यो गोप्य सुत्रमा

सिंगापुरका कूटनीतिज्ञ किशोर महवुवानीले आफ्नो देशको सफलताका रहस्यबारे निकै रोचक ढङ्गले बताएका थिए। महवुवानी आफ्ना विद्यार्थीहरूलाई भन्ने गर्थे, 'यदि तपाईँहरूले यो गोप्य सूत्र लागु गर्नु भयो भने तपाईँहरूको देश पनि सफल हुनेछ।' 

उनका अनुसार त्यो गोप्य फर्मुला हो, एमपीएच अर्थात् मेरिटाेक्रेसी, प्रग्माटिज्म र अनेष्टि (Meritocracy, Pragmatism and Honesty)।  सरल भाषामा भन्दा योग्य व्यक्तिको छनौट, व्यवहारिकता र इमानदारिता। 

'एम' को अर्थ हो मेरिटाेक्रेसी। मेरिटाेक्रेसी भन्नाले देश चलाउनको लागि योग्य मानिसहरूको छनौट गर्नु। तेस्रो विश्वमा धेरै देशलाई के कुराले बरबाद पार्छ भने सरकारमा अर्थमन्त्री वा वित्त मन्त्री नियुक्त गर्दा आफ्ना भाईभतिजा र आफन्तलाई प्राथमिकता दिइन्छ। राजनीतिका रुपमा आफू नजिकका विश्वासिला र जे भन्यो त्यो मान्ने मान्छेलाई त्यस्ता महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याइञ्छ। योग्य मानिसलाई होइन की अन्य सम्पर्क र सम्बन्धको आधारमा नै व्यक्तिको छनौट गरिन्छ। 

तर, सिंगापुरले यसको ठिक विपरीत गर्‍यो। सिंगापुरमा अर्थमन्त्रीको पद सबैभन्दा योग्य मानिसलाई दिइयो। सिंगापुरमा एक पटक अपवाद स्वरूप एक जना आफन्तलाई नियुक्त गरियो। ती व्यक्ति थिए, ली सियन लुङ। ली सियन लुङ बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा पढ्दा आफ्नो ब्याचका सबैभन्दा उत्कृष्ट विद्यार्थी थिए।

गणितमा उनको दक्षता देखेर उनका प्रोफेसरहरूले उनलाई गणितज्ञ बन्न प्रेरित गरेका थिए। त्यसपछि उनी अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा थप अध्ययनको लागि गए। जहाँ उनको विद्यार्थी छदै आफ्नो लेख अर्थशास्त्रको सबैभन्दा पहिलो श्रेणीको जर्नलमा प्रकाशित भयो। धेरै कम विद्यार्थीको यो तहको जर्नलमा लेख प्रकाशित हुन्छ।

आफ्नो पेसागत दक्षताको कारणले ली सियन लुङ सिंगापुरको अर्थमन्त्री बने। त्यो दक्षता उनमा थियो। प्रधानमन्त्री ली क्वान युको छोरा भएको हुनाले मात्र होइन। त्यसैले सिंगापुरको सफलताको पहिलो फर्मुला मेरिटाेक्रेसी पनि त्यो नियुक्तिमा समेत तोडिएको थिएन ।

सिंगापुरको सफलताको दोस्रो फर्मुला हो, अर्थात् प्रग्माटिज्म।  प्रग्माटिज्मको नेपालीमा हुन्छ व्यवहारिकता। यो अङ्ग्रेजी अवधारणा हो। तर यसको सबैभन्दा राम्रो व्याख्या चीनका नेता देङ सियाओ पिङले दिएका छन्। उनले भनेका थिए- 'बिरालो कालो भए पनि सेतो भए पनि केही फरक पर्दैन। यदि बिरालोले मुसा पक्रन सक्छ भने त्यो राम्रो बिरालो हो।'

सोही प्रकारले तपाईँको विचारधारा के छ त्यसैले केही फरक पर्दैन। यदि त्यसले काम गर्छ भने प्रयोग गर। सिंगापुर धेरै व्यवहारिक देश थियो। यस्ले केही नीतिहरू लियो जुन पुँजीवादी थिए र केही त्यस्ता नीतिहरू लियो जुन समाजवादी थिए। तिनीहरूलाई मिश्रण गरिदियो र मुलुकको हितमा प्रयोग गर्‍यो। व्यवहारवाद भनेको त्यही हो। तपाईँ कुनैपनी विचारधाराले बाँधिनु हुन्न। 

र, त्यो सूत्रको अन्तिम खम्बा एच अर्थात् अनेष्टि। नेपालीमा हो, इमान्दारीता । यो हासिल गर्न सबैभन्दा सबैभन्दा कठिन हुन्छ।  तेस्रो विश्वका अधिकांश देशहरूलाई गिराउने, कमजोर पार्ने र विकासका असफलताको मुख्य कारणका रुपमा रहेको भ्रष्टाचार यहि इमानदारिताको कमीले गर्दा नै हुने गरेको छ। त्यसैले ली क्यान युले सिंगापुरको प्रधानमन्त्री बनेपछि भ्रष्टाचार नियन्त्रण गर्न साना तहका कर्मचारीहरूलाई होइन उच्च ओहोदाकालाई निसाना बनाउने कुरा गरेका थिए । 

एक पटक ली क्वान युको मन्त्रिमण्डलका एक जना सहायक मन्त्री एक जना आफ्ना व्यवसायी मित्रसँग छुट्टी मनाउन गए। ती मन्त्री फर्केर आएपछि उनलाई गिरफ्तार गरियो। मन्त्रीले प्रतिकार गर्दै भने- मलाई किन गिरफ्तार गरिँदै छ? मैले के अपराध गरेको छु ? ली क्वान युले जवाफ दिए- 'तपाईँ एउटा व्यापारीसँग छुट्टी मनाउन जानू भयो। तपाईँको सबै खर्च ती व्यापारीले तिरे। त्यो भ्रष्टाचार हो। अब तपाई जेल जानुस् ।'

जब सहायक मन्त्रीले त्यसरी जेल जानुपर्छ भने अरू कर्मचारीहरू पनि आफू जेल पर्न सक्ने डरले सतर्क हुन्छन्। यो इमानदारिताको तत्त्व नै त्यो मुख्य कारण थियो जसले सिंगापुरलाई अपवाद स्वरूप सफल देश बनायो। 

सिंगापुरको सफलताको मुख्य कारण योग्य व्यक्तिहरूको शासन तन्त्र, व्यवहारवाद र इमानदारिताको संयोजन नै थियो। नेपाललाई १० वर्षमा सिंगापुर बनाइदिन्छाै भनेर हाम्रा नेताले हामीलाई गफ दिन थालेको पनि ३० वर्ष भयो। यो ३० वर्षमा नेपालको उन्नति र प्रगति के कति भयो सबैलाई थाह नै छ।

किशोर मवुवानीले बताएका सिंगापुरका सफलताका सूत्रहरूको कसिमा हाम्रा नेताहरूलाई एक पटक राखेर हेरौँ। कति योग्य मानिसले हामीलाई शासन गरिरहेका छन्? हाम्रा नेताहरूको फोस्रो सैद्धान्तिक आवरण र व्यवहारवाद बिचको अन्तर कस्तो छ ? व्यवसायीको घरमा डेरा लिएर बस्ने र उनीहरूको पैसामा विदेशमा उपचार गर्न जाने हाम्रा नेताहरूको जीवन शैलीलाई एक पटक हेरौँ। आफै थाह हुन्छ, नेपाल किन बनेन ?