शीर्षकहरू

कान्तिपुरसहित छ सहकारी कालोसूचीमा

कान्तिपुरसहित छ सहकारी कालोसूचीमा

काठमाडौं । झण्डै बैंकहरु कै हाराहारीमा कारोबार गर्दै आएका सहकारीहरु एकपछि अर्को गर्दै धरासयी बनेका छन् । सिभिल सहकारीको समस्याले इच्छाराज तामाङलाई जेलमा पुर्यायो । गौमश्री सहकारीले त्यसपछि निकै ठूलो हंगामा मच्चायो । वर्षौअघि ओरण्टल सहकारी समस्यामा पर्दा त्यसले बचतकर्तामा सिर्जना गरेको घाउमा अझै खाटो बसिसकेको छैन ।

त्यसैगरी, अर्को एउटा ठूलो सहकारी बचतकर्तालाई विल्लीबाट पार्दै कालोसूचीमा समावेश भएको छ । त्यो हो, काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभ । गत भदौदेखि नै बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्यामा रहेको उक्त सहकारी अब कालोसूचीमा समेत परेको हो ।

त्यसैगरी चालु आर्थिक वर्षको फागुन १५ गतेसम्म कालोसूचीमा परेका सहकारीमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय को अपरेटिभ र शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभ रहेका छन् ।

कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चलकमा धन बहादुर अधिकारी, मुना तिवारी, सरस्वती शर्मा, कमला बस्नेत, नेत्र कुमार गिरी, प्रेम कुमारी भुजेल, रेनुका भुजेल र सनिप कुमार भुजेल रहेका छन् ।

त्यसैगरी, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा रञ्जना खड्का, सन्तोष प्रधान र युव बहादुर कार्की रहेका छन् । त्यस्तै, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, भरत प्रसाद धिताल, जीवन थापा, र राम कुमार उप्रेती रहेका छन् ।

कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा चन्द्र ज्योति कोइराला, देवसागर लामा र पुष्पराज कोइराला रहेका छन् । तर, निजहरुका अनुसार चन्द्र ज्योति कोइराला र पुष्पराज कोइराला क्रमशः भकुण्डेबेशी र बनेपामा खोलिएका सो सहकारीका कर्मचारी मात्रै हुन् । त्यसैगरी देवसागर लामा बनेपा शाखाका पूर्व कर्मचारी थिए । जसले गत बैशाख अघिनै एकाउण्टेड पदबाट राजिनामा दिई रोशी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी समेत बनिसकेका छन् । 

केन्द्रका अनुसार शिव शिखर बहुउद्देश्यीय को अपरेटिभका सञ्चालकमा लिलानाथ गौतम र सुशिल बाँनिया रहेका छन् भने शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभका सञ्चालकमा हरि बशिष्ठ भट्टराई, हिमाल राई, पद्मालिम्बु, प्रताप राई, रोजिना कोइराला र सञ्जु अवाले रहेका छन् ।