शीर्षकहरू

अदालतमा बयान फेरेपछि घुस लिने र दिने दुबैविरुद्ध मुद्दा दायर

अदालतमा बयान फेरेपछि घुस लिने र दिने दुबैविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने साक्षीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा घुस खाने इन्जिनियर र घुस दिने तीन जनाविरुद्ध आरोप पत्र दायर गरेको हो । 

अख्तियारका अनुसार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ५ बस्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्न प्रसाद आचार्य उपर प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियरसमेतले घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्न प्रसाद आचार्यलाई पेस गरिएको थियो । 

उनीहरूले अदालतमा प्रतिकूल बकपत्र गरेपछि अख्तियारले अनुसन्धान गरेको थियो । सो क्रममा दोषी देखिएपछि उनीहरूलाई समेत विपक्षी बनाई मुद्दा दायर गरिएको हो ।  सो कार्यालयका इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसबापतको रकम दिने बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्न प्रसाद आचार्यसमेतलाई उक्त मुद्दाको अनुसन्धानको क्रममा भ्रष्टाचार गरेको आयोगको आरोप छ । 

उनीहरू तीन जनाले पनि २९ हजार रुपैयाँ घुस रिसवत दिई भ्रष्टाचार गरेको आयोगको भनाई छ । उनीहरूबाट सोही रकम बराबरको बिगो समेत माग गरिएको छ । उता इन्जिनियर आचार्यले पनि ८५ रुपैयाँ घुस लिएको पाइएको छ । उनीसँग पनि सोही रकम बराबरको बिगो माग गरेर अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।