शीर्षकहरू

भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा

भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिमाना र कैद तथा अवैध सम्पत्तिबाट बढेर बढाइएको सम्पत्ति जफत गर्न मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

केसीले पत्नी सुशीला पण्डितको नाममा समेत अकुत सम्पत्ति राखेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार केसीले पत्नी पण्डितका नाममा घरजग्गा खरिद गरेको तथा बैंक खातामा समेत रकम मौज्दात राखेको पाइएको छ । त्यसरी पत्नीको नाममा समेत अकुत सम्पत्ति राखेको पाइएपछि अख्तियारले पण्डितविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिमाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको जानकारी दिए ।

२०४३ साउन १ बाट सरकारी सेवा प्रवेश गरेका केसीमाथि २०७८ असार ३० सम्मको ३५ वर्षमा आयआर्जन गरेको सम्पत्ति तथा खर्चविवरणमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियारका अनुसार सरकारी सेवा प्रवेश गरेयताको ३५ वर्षमा निजको सम्पूर्ण वैधानिक आयमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता, पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैतृक घर बहाल आय, कृषि आय, अंशबन्डाबाट प्राप्त नगद, बिमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकमसमेत गरी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ २२ पैसा देखिएको छ भने सोही अवधिमा उनले गरेको खर्च तथा लगानी आयभन्दा २ करोड १० लाख रुपैयाँभन्दा बढी देखिएको छ ।