काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (आइप्यान) ले आगामी मार्च २८–२९ (चैत्र १४–१५ २०७९) मा आठौं संस्करणको पावर समिट २०२३ को आयोजना गर्ने जनाएको छ । “हरित उर्जाको बजार विस्तारीकरण” भन्ने नाराका साथ काठमाडौंको हायात रिजेन्सीमा आयोजना हुने आयोजकले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपालमा आयोजना हुने यो सबैभन्दा ठूलो ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी रहने जनाइएको छ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूको समेत सहभागीता रहने छ ।
साथै विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुनेछन् । यो सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहने छ भने प्रमुख प्रायोजकहरूमा विश्व बैंक, आईएफसी, एफएमओ, युएसएआईडीलगायतका विकास साझेदारहरू रहेका छन् ।
हालै सोलु–दुधकोशी जलबिद्युत आयोजनाबाट ८६ मेगावाट बिद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २५२० मेगावाट पुगेको छ । यो बर्ष अरु करिब ६०० मेगावाट प्रणालीमा थपिने छ र सन २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा छ ।
यसरी विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अुनमान गरिएको छ । सन २०२२ मा हाम्रो बिद्युतको उच्चतम माग करिब १७०० मेगावाट मात्र थियो । यो तथ्यले अबको बर्षा याममा करिब १००० मेगावाट बिद्युत बचत हुने देखिएको छ । यसैले आजको हाम्रो समय भनेको हरित ऊर्जाको बजारका पक्षहरूमा ध्यान केन्द्रित गर्ने उपयुक्त र सही समय हो ।
नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन । तर जलबिद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत छ । पछिल्लो दशकमा नेपालमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको छ । उत्पादित ऊर्जाको लागि अव मागलाई तीब्र बनाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । यसका लागि हामीले आन्तरिक खपत र बाह्य बिद्युत ब्यापारमा ध्यान केन्द्रित गर्न जरुरी छ । यसले मात्र हरित ऊर्जाको बजार फराकिलो बन्न सक्छ ।