शीर्षकहरू

भारतले भ्रमणमा किन बोलाएन प्रधानमन्त्री प्रचण्डलाई ?

भारतले भ्रमणमा किन बोलाएन प्रधानमन्त्री प्रचण्डलाई ?

काठमाडौं । नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि ‘भारत भ्रमण’को निम्तो भने दिएनन् ।

नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हो ।

‘भोलिको राजनीतिक परिदृश्य के हुन्छ ?’ त्यो हेरेर मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत देखाएको छ । राष्ट्रपति विषयलाई लिएर अहिले सत्तारूढ गठबन्धन दल र प्रमुख विपक्षी नेपाली कांग्रेसबीचको टकराव भइरहेकै बेला भारत ‘यो सरकार कति दिन टिक्छ ?’ भनेर आ“कलन नगरी प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन चाहँदैन ।

दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव क्वात्रा विदेश सचिवस्तरीय बैठकमा आएको भनिए पनि उनी सोमबार र मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए ।

क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आँकलन थियो । तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे । भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ ।

त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए ।

प्रचण्डले प्रधानमन्त्री नियुक्तिलगत्तै आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट हुने बताउनुले पनि भारतीय पक्ष ढुक्क छ । यसअघि प्रचण्डले सन् २००८ मा प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनतर्फ गरेका थिए । त्यसपछि ‘भारत रिसाएको’ भन्दै आफ्नो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए ।