घोरपाटन । धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ । तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्र्याउन सकेको छैन ।
गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही गाउँ हुँदै बग्ने तमानखोलालाई थुनेर गाउँपालिकाले हाइड्रोपावर निर्माण गर्न दुई वर्षदेखि अध्ययन गरेको छ ।
गाउँपालिकाको गौरवको यो परियोजना सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हुने छ । तमानखोला थुनेर हाइड्रोपावर मात्रै बन्ने छैन । यहाँ ‘फिस फार्म’, ‘¥याफ्टिङ’ लगायत पर्यटक आकर्षित गर्ने अन्य संरचना बन्ने छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ बनाउन र यहाँका नागरिकको जीवनस्तर उकास्न यो योजना सुरु गर्न लागेको बताउछन । “हाइड्रोपावरसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने छ, यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ, योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी काम हुने छ, परियोजना सरकार, निजी क्षेत्र र स्थानीय नागरिकको लगानीमा निर्माण हुनेछ”, उनी भन्छन ।
तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा यो गाउँ पर्छ । यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामकरण गरेको र यहाँ धार्मिक पर्यटक बढी भित्र्याउने लक्ष्य लिइएको छ । उनी भन्छन, “यो गाउँ निकै केन्द्रमा पर्छ, अहिले आन्तरिक पर्यटक त आउँछन् तर एक÷दुई दिन राख्न सकिएको छैन, पर्यटक घुम्न बाँध बाँधेर ताल बन्छ, डुङ्गा सञ्चालन हुन्छ, फिस फार्म चल्छ्, वरपर रेष्टुराँ र आकर्षक पर्यटकीय संरचना निर्माण हुने छ ।”
गाउँपालिकाले पहिलो चरणको अध्ययन सकेर दोस्रो चरण सुरु गरेको छ । अहिले एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सी कोटेश्वरले दोस्रो चरणको अध्ययन गरिरहेको छ । खोला थुनेर जलाशययुक्त हाइड्रोपावर बनाउन रु ४० करोड र पर्यटकीय संरचनासहितको काम गर्न करिब रु ६० करोड लाग्ने एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सीका इन्जिनीयर नवीन घर्तीमगरले जानकारी दिनुभयो । इन्जिनियर घर्तीमगर भने, “यो ठाउँ बाध बाँधेर हाइड्रो निर्माण गर्नका लागि उपयुक्त देखिएको छ, यहाँको भूगोलको अवस्था, बाध र पर्यटकीय संरचना कहाँ निर्माण गर्नेलगायतका विषयमा अध्ययन गरिरहेका छौँ ।”
यहाँबाट तीन सय ५० किलोवाटको विद्युत् उत्पादन हुने आँकलन गरिएको छ । यसलाई उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’को रुपमा लिइएको छ । गाउँपालिकाले रु १५ लाख खर्च गरेर पहिलो चरणको अध्ययन गरिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले जलाशययुक्त हाइड्रोपावर निर्माणपछि सिङ्गो तमानखोलाले मुहार फर्ने भन्दै यहाँका नागरिको जीवनस्तर बदलिने बताउछन।
परम्परागत खेतीपाती र पशुपालनमा हुँदै आएको यहाँ हाइड्रोपावरले रोजगार सिर्जना गर्नुका साथै गाउँलेलाई व्यवसायसँग जोड्ने उपाध्यक्ष छन्त्याल बताउछन । उनी भन्छन, “भौगोलिक हिसाबले पछि पर्दा यहाँका नागरिक पछाडि परेका छन्, अब विस्तारै सडक पनि राम्रो हुँदै छ, दैनिकीमा केही परिवर्तन आउँदै छ, यो परियोजना सम्पन्नपछि धेरैको जीवनस्तर बदलिने छ ।”