शीर्षकहरू

प्रेम दर्शाउन समेत भारतकै भर, प्रेम दिवसको लागि भित्रिँदै डेढ करोडको गुलाब

प्रेम दर्शाउन समेत भारतकै भर, प्रेम दिवसको लागि भित्रिँदै डेढ करोडको गुलाब

काठमाडौं । हरेक वर्ष फेब्रुअरी १४ मा ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस मनाइन्छ । यस दिन आफूले मन पराएका आफ्नो प्रेमी/प्रेमिकालाई गुलाबको फूल दिएर माया साटासाट गर्ने गरिन्छ ।    

पश्चिमा मुलुकबाट सुरु भएको भ्यालेन्टाइन डे नेपाली समाजले पनि सहज रूपमा लिइसकेको छ । पछिल्ला केही वर्ष यता नेपालमा युवा पुस्ताहरूले भ्यालेन्टाइन डे पनि चाडपर्व झैँ मनाउन गरेका छन् । भ्यालेन्टाइन डेको दिन गुलाफ, कार्ड लगायत उपहारहरू आदानप्रदान गरी मनाउने चलन छ ।  

यो दिन प्रेमको प्रतीकको रूपमा रातो गुलाफको आदानप्रदान गरी प्रेम दर्साउने गरिन्छ । त्यसैले भ्यालेन्टाइन डेमा सबैभन्दा बढी गुलाबको फुल बिक्री हुन्छ । जसले गर्दा नेपाली बजारमा पनि त्यस बेला गुलाबको फुलको बिक्री धेरै हुने गर्छ ।   

तर, नेपालीहरूले गुलाफ साटेर एक अर्कालाई माया गर्छु भन्ने अनुभूति दिलाउन पनि विदेशी फूलको सहारा लिनुपर्ने बाध्यता छ । नेपाली जोडीहरूले साटासाट गर्ने धेरैजसो गुलाब भारतबाट आयात हुने गरेको छ । आन्तरिक उत्पादन कमजोर रहेकोले नेपालीले भारतीय उत्पादनमा नै निर्भर हुनु परिरहेको छ । 

यस वर्षको प्रेम दिवस पनि भारतबाट आयात भएको गुलाबको फूलले मनाउनु पर्ने बाध्यता रहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मीन बहादुर तामाङ बताउँछन् । नेपालमा गुलाब उत्पादन भने घट्दो रहेको बताउँदै उनले भने, ‘कोरोना महामारीपछि यस क्षेत्रमा बढेको लगानी छैन । जसले गर्दा नेपालमा गुलाबको उत्पादन घट्दो छ । बजारको माग धान्न गुलाबको फूल भारतबाट आयात गर्नु पर्ने बाध्यता छ ।’ 

गुलाबको नेपाली उत्पादन घट्दो छ तर, बजारमा गुलाबको माग बढ्दो रहेको छ । यस वर्ष माग भएको गुलाबमा नेपाली उत्पादन ७ प्रतिशत मात्रै रहेको छ भने बाँकी ९३ प्रतिशत भारतबाट आयात गर्नु पर्ने भएको छ । जबकि गत वर्ष मागको १० प्रतिशत आन्तरिक उत्पादनले धानेको थियो ।  

प्रणय दिवसका अवसरमा सात दिनसम्म गुलाबको माग धेरै हुने गर्छ । यसमा पनि सबैभन्दा बढी जसो रातो गुलाबको माग हुन्छ । आयातित गुलाबको नै भए पनि व्यापार राम्रो हुनेमा व्यापारीहरू ढुक्क छन् ।   

‘प्रेम दिवसका लागि दुई लाख ६० हजार स्टिम गुलाबको फूल भारतबाट आयात गरिने भएको छ । जसको मूल्य करिब एक करोड ६० लाख बराबरको हुने देखिन्छ’, अध्यक्ष तामाङले भने ।

त्यस्तै, उनले फूलको बजार मागको ६० प्रतिशत काठमाडौं उपत्यकाभित्र र बाँकी ४० प्रतिशत बाहिरी मुख्य सहरहरूमा खपत भएको जानकारी दिए । साथै उनले गुलाबको फूलको गुणस्तर अनुसार प्रति स्टिम ८० रुपैयाँदेखि एक सय २० रुपैयाँको हाराहारीमा बिक्री वितरण हुने समेत बताए । गत वर्ष प्रति स्टिम ८० रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा बिक्री वितरण भएको थियो । 

कोरोना महामारी अगाडी नेपाली बजारमा मागको ८० प्रतिशत आन्तरिक उत्पादनले धान्ने गरेको थियो । तर, यस वर्ष भने आन्तरिक उत्पादन ७ प्रतिशत मात्रै रहेको छ । आयातित फूलसँग प्रतिस्पर्धा गर्न समस्या रहेका कारण नेपाली फूल उत्पादन बढ्न सकेको छैन । यस क्षेत्रमा लगानी बढ्न नसकेका कारण आयातित फूलको भरमा बजारको माग धान्नु पर्ने बाध्यता रहेको अध्यक्ष तामाङले स्वीकारे गरे । 

उनले आर्थिक न्युजसँग भने, ‘गुलाबको माग नेपाली बजारमा बढ्दो छ । तर, उत्पादन बढ्न सकेको छैन । हामीले यस क्षेत्रमा लगानी मात्रै होइन प्रविधिमा समेत लगानी गरेका छैनौँ । बाह्रै महिना फूल फुलाउन सक्दैनौँ । चिसो मौसममा गुलाब कम फुल्छ । यसले गर्दा आयातको भर पर्नु पर्ने बाध्यता हामीलाई छ ।’ 

उनका अनुसार फ्लोरिकल्चरको क्षेत्रमा लगानीमैत्री नीति नै छैन । प्रविधिमा लगानी गरेर उत्पादन गर्ने हो भने पनि भारतबाट आयात भएका फूलसँग प्रतिस्पर्धा गर्न समस्या हुन्छ । भारतको उत्पादनले नेपालमा सहजै बजार पाउँछ । त्यसमा पनि सस्तोमा बिक्री हुने गर्छ । यहाँ प्रविधिमा लगानी गर्‍यो भने मूल्यमा केही वृद्धि हुन जान्छ । जसले गर्दा नेपाली उत्पादनले बजार पाउन सक्दैन । 

बजार नपाउने भएपछि उत्पादन गरेर जोखिम मात्रै बढ्ने भएकाले व्यवसायीहरूले फूल उत्पादनमा लगानी गर्न डराउने गरेको उनको भनाई छ । भारतीय फूल आयातमा कडाइ गर्नका लागि नेपाली व्यवसायीहरूले विभिन्न मन्त्रालय धाउँदा समेत सुनुवाइ हुन नसकेको उनले गुनासो गरे । भारतबाट आयात हुने फूललाई भन्सार दर बढाइदिने हो भने पनि नेपाली व्यवसायीले लगानी गरेर उत्पादन बढाउँछन् भन्दा समेत सम्बन्धी निकायले नसुनेको उनले बताए । 

हुन पनि भन्सारमा कडाइ गर्ने बित्तिकै नेपालमा भारतीय फूलको प्रवेश कम हुन्छ भन्न सकिने अवस्था छैन । किनभने नेपाल र भारत बिच खुल्ला सिमाना रहेका कारण पनि भन्सार दर बढाउने बित्तिकै अवैध मार्गबाट फूल भित्रिने देखिन्छ । अवैध मार्गबाट आएका फूलहरू झन् सस्तोमा बिक्री हुने देखिन्छ । यसले गर्दा न नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ न सरकारले भन्सार पाउँछ । सरकारले अवैध मार्गबाट आयात हुने फूललाई रोक्नु पर्ने र वैध मार्गबाट आउने आयातित फूलको भन्सार दर बढाइदिनु पर्ने उनले माग गरे ।