शीर्षकहरू

सम्पत्ति बीमा गर्ने बढेसँगै एक महिनामा २८.६६ प्रतिशतले बढ्यो बीमाशुल्क

सम्पत्ति बीमा गर्ने बढेसँगै एक महिनामा २८.६६ प्रतिशतले बढ्यो बीमाशुल्क

काठमाडौं । पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्यामा वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार एक महिनामा सम्पत्ती बीमा वापतको बीमाशुल्क २८.६६ प्रतिशतले बढेको छ । 

बीमा प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरुको संख्या बढेसँगै बीमाशुल्क संकलन पनि बढेको हो । मंसिर महिनाको तुलनामा पुस महिनामा सम्पत्ति बीमाशुल्क रकम ९९ करोड ५४ लाख रुपैयाँले बढेको प्राधिकरणले जनाएको छ । 

यस अवधिमा सम्पत्ति बीमा वापत ४ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । विभिन्न कम्पनीहरुले दुई लाख ४५ हजार ५५३ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । मंसिर महिनामा निर्जीवन बीमा कम्पनीहरुले दुई लाख एक हजार ५८४ बीमालेख बिक्री गरी तीन अर्ब ४७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । 

यस्तो छ सम्पत्ति बीमा गर्नेहरुको प्रदेशगत अवस्था 
प्राधिकरण अनुसार चालु आवको पुस महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट प्रदेश नम्बर १ मा ६१ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले ३७ हजार ८३५ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन । गत मंसिर महिनामा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट ५० करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । 

त्यस्तै, मधेश प्रदेशमा बीमा कम्पनीहरुले सम्पत्ति वापत गरिने बीमाबाट ४२ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशमा २३ हजार ६७५ बीमालेख बिक्री गरेका छन् । गत मंसिर महिनामा उक्त प्रदेशबाट ३४ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क रकम संकलन भएको थियो ।

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट सबैभन्दा बढि बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले सो प्रदेशबाट ९१ हजार ८८१ बीमालेख बिक्री गरी दुई अर्ब ५६ करोड ६लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो महिनाको तुलनामा ६५ करोड ३९ लाख रुपैयाँले बीमाशुल्क बढेको छ । मंसिरमा कम्पनीहरुले उक्त प्रदेशमा सम्पत्ति बीमाबाट एक अर्ब ९० करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणका अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १५ २१ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्र्जन गरेको देखिन्छ । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क तीन करोड ५६ लाख रुपैयाँले बढि हो । यस अवधिमा कम्पनीहरुले २७ हजार ४२ बीमालेख बिक्री गरेका छन् । मंसिर महिनामा कम्पनीहरुले सम्पत्ति बीमाबाट बीमाबाट १७ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

त्यस्तै, लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले ४१ हजार ४६८ बीमालेख बिक्री गरी ४८ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क अघिल्लो महिनाको तुलनामा ९ करोड १० लाख रुपैयाँले बढि हो । गत मंसिरमा कम्पनीहरुले ३९ करोड २९लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । 

त्यसैगरी, कर्णाली प्रदेशमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा कम ४ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले ७ हजार ६६५ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन् । मंसिरमा कम्पनीहरुले तीन करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो महिनाको तुलनामा उक्त रकम एक करोड २ लाख रुपैयाँले बढि हो । 

प्राधिकरणका अनुसार सुदुरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट १२ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा उक्त देशबाट १५ हजार ९८७ बीमालेख बिक्री भएको छ । गत मंसिर महिनामा कम्पनीहरुले १० करोड २७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो महिनाको तुलनामा उक्त बीमाशुल्क रकम २ करोड ४३ लाख रुपैयाँले बढि हो ।