शीर्षकहरू

निष्क्रिय कर्जा बढेसँगै धौलागिरी लघुवित्तको नाफा घट्यो

निष्क्रिय कर्जा बढेसँगै धौलागिरी लघुवित्तको नाफा घट्यो

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ८३ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. २ करोड १४ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ३४ लाख ९९ हजारमा झरेको हो ।

चालू आवमा कम्पनीको निष्क्रिय कर्जा मा वृद्धि भएकाले र ब्याज खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ७५ रहेकोमा चालू आवमा बढेर ७ दशमलव ६९ पुगेको छ । त्यस्तै कम्पनीको ब्याज खर्च गत आवमा रू. ३ करोड ९८ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ६७ लाख पुगेको हो ।  

त्यस्तै चालू आवमा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याएकाले पनि नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. १ करोड ६७ लाख छुट्याएकोमा चालू आवमा रू. २ करोड ६० लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १ करोड १० लाख ऋणात्मक रहेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. १० करोड ३१ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.६ करोड ४७ लाख सञ्चित गरेको छ । कम्पनीले रू.५४ करोड ९६ लाख सापटि लिएर, रू.६८ करोड ६२ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ४२ करोड भन्दा बढी कर्जा लगानी गरेको हो ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७९ ,मूल्य आम्दानी अनुपात २०३ दशमलव २४ गुणा,तरलता अनुपात ७ दशमलव ९८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ८० रहेको छ ।