शीर्षकहरू

वित्तीय खर्च बढ्दा नेशनल हाइड्रोपावरको नाफा घट्यो

वित्तीय खर्च बढ्दा नेशनल हाइड्रोपावरको नाफा घट्यो

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७३ लाख ६१ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा १३ दशमलव ९० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८५ लाख ४९ हजार खुद नाफा गरेको थियो ।

यस वर्ष आम्दानी शून्य दशमलव ६८ प्रतिशतले मात्र बढेर रू. ५५ करोड ८ लाखभन्दा बढी भएको छ । कम्पनीको वित्तीय खर्च भने गत वर्षभन्दा यस वर्ष ३२ दशमलव ४३ प्रतिशत बढी भएको छ । जसको असर कम्पनीको नाफामा पर्न गएको हो । गत वर्ष रू. ६१ लाख ३४ लाख वित्तीय खर्च रहेको कम्पनीको यस वर्ष रू. ८१ लाख २३ हजार रहेको छ ।

१८ दशमलव ७० प्रतिशत बोनस शेयरले चुक्तापूँजी बढाएर रू. १ अर्ब ६४ करोड ५० लाख १६ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम भने ८८ प्रतिशत कम रू. ३ करोड १२ लाख कायम भएको छ । कम्पनीको कर्जा रकम ५५ दशमलव ४७ प्रतिशत बढेको छ । गत वर्ष रू. १५ करोड ८३ लाखभन्दा बढी रहेको कर्जा रकम यस वर्ष रू. २४ करोड ६२ लाखभन्दा बढी पुगेको हो ।

यस कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गरी गत असोज १४ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव ७९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ८० रहेको छ ।