शीर्षकहरू

भारतमा ऊर्जा संकटको बढ्यो सम्भावना, कोइला आपूर्तिले पार्‍यो सकस

भारतमा ऊर्जा संकटको बढ्यो सम्भावना, कोइला आपूर्तिले पार्‍यो सकस

काठमाडौं । भारतको ऊर्जा उत्पादनमा एउटा ठूलो सङ्कट पैदा हुने स्थिति देखा परेको छ । अत्यधिक ऊर्जा खपत हुने हिउँद महिनामा खनिज जन्य ऊर्जाको स्रोतकारुपमा प्रयोग हुने कोइलाको आपूर्ति समस्या बन्ने देखिएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

इन्धनको भण्डारण अहिले घटिरहेको छ । मार्च र अप्रिल महिनासम्म नै कोइलाको आपूर्तिमा रहने समस्याले धेरै क्षेत्रहरूमा लोडसेडिङ गर्नु पर्ने अवस्था आउने देखिएको हो । 

ऊर्जा उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको भण्डारण १२ दिनसम्मको लागि हाल रहेको छ । अघिल्लो वर्ष अर्थात् २०२१ मा यस्तो भण्डारण १८ दिनको लागि थियो भने सन् २०२० मा १९ दिनको लागि पुग्ने थियो । 

भारतमा कोइलाको माग र आपूर्तिबिचमा कस्तो स्थिति छ भने अक्टोबरदेखि मार्चसम्म एयर कन्डिसन र फ्रिज कम चल्ने हुँदा विद्युतको माग केही कम हुने गर्छ । अप्रिलदेखि सेप्टेम्बरसम्म भने यो अत्यधिक हुन्छ । तर, त्यसै बेला वर्षा समेत हुने हुँदा खानीबाट पर्याप्त मात्रामा कोइला भने निकाल्न सकिन्न । फस्वरुप माग र आपूर्तिबिच सन्तुलन बिग्रन सक्छ ।

कोइला प्रयोग गरेर विद्युत् उत्पादन गर्ने थर्मल जेनेटरहरुले सन् २०२० को अक्टोबरदेखि डिसेम्बरसम्म विगतभन्दा निकै बढी १९ अर्ब किलोवाट आवर विद्युत् उत्पादन गरेका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी विद्युत् उत्पादन गर्दा त्यहाँ रहेको कोइलाको भण्डारणमा कमी आएको हो ।