शीर्षकहरू

के हामी संवेदना मरिसकेको ज्यूँदो लास नै हौँ ?

के हामी संवेदना मरिसकेको ज्यूँदो लास नै हौँ ?

म आफ्नै चितामा आफै आगो कुन आँटले लगाउँ ? 

सरकार कमसेकम प्राण गईन्जेल त पर्ख !

लास र जिउँदो लास बीच के फरक हुन्छ ?

तिम्रो सिंहासनकाे छेउमा राखिएको संविधान पल्टाएर त हेर !

मंगलबार संसद भवन नयाँबानेश्वर अगाडि आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन भएको छ । तर, त्यो मर्माहत पूर्ण घटनाले हाम्रो संवेदनालाई भने छोएको देखिएको छैन। आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ सङ्घर्ष गरिरहेको एक युवाले ६००० शब्दमा सुसाईड नोट लेखेर देशको संसद भवन अगाडि आत्मदाह गर्छ। तथापि त्यसले पनि हामीलाई विचलित बनाउँदैन भने स्वीकार गरौँ हामी जीवित छैनौँ । हाम्रो मृत्यु भैसकेको छ। हामी फगत ज्यूँदो लास मात्र हौँ  ! 

तपाईँको मरिसकेको आत्मा कतै जागृत भई हाल्छ कि भन्ने झिनो अपेक्षा सहित म यहाँ १२ वर्ष अघि यही धर्तीमा भएको एक घटनालाई स्मरण गराउन चाहन्छु। हाम्रोमा पनि त्यो शृङ्खला वा चक्र पुरा होस् भन्ने मेरो चाहना हो।

१७ डिसेम्बर २०१० को कुरा हो। आजैको जस्तो हिउँदको दिन थियो। अफ्रिका महादेशको ट्यूनीशिया भन्ने देशमा बेन अलि भन्ने शासक थिए। २३ वर्ष देखी सत्तामा जमेर बसेका थिए, उनी। हाम्रोमा पनि उही प्रवृत्ति भएको व्यक्तिहरूले पालो फेरेको मात्र हो। बेन अलि र उनका भाइ-भारदारहरुको लागि ट्यूनीशिया स्वर्ग थियो तर आम जनताको लागि नर्क बनिसकेको थियो। ठ्याक्कै हाम्रो जस्तै नियति भोगिरहेका थिए त्यहाँका जनताले। आम जनताले दुई छाक खानको लागि आफ्नो हड्डी घोटेर मेहनत गर्दा पनि पेटभरि खान मुस्किल थियो। त्यसमाथि प्रहरी प्रशासनको दमन ज्यादै चर्को थियो। 

ट्यूनीशियाको राजधानी ट्यूनिस भन्दा करिब ३०० किलोमिटर टाढा सिदी बुजिद भन्ने सहरमा मोहम्मद बौज़ीज़ी नाम गरेका २६ वर्षीय युवा सडकमा ठेलामा सामान राखेर आफ्नो सानोतिनो व्यवसाय गर्थे। अरू दिन जस्तै त्यो दिन पनि सरकारी कर्मचारीहरू उनको दोकानको छेउमा आए र उनको सामान जफत गरे। काठमाडौँको सडकमा बालेन शाहको फौजले गरे झैँ। मोहम्मद बौज़ीज़ीले पहिला पनि यस्तो घटना भोगिसकेका थिए। उनले त्यो दिनको जम्मा कमाइ १० दिनार दिएर आफ्नो सामान बचाउन खोजे। तर त्यो दिन सरकारी कर्मचारीहरूको मुड के थियो कुन्नि उनीहरूले पैसा लिन इन्कार गरे। र, मोहम्मद बौज़ीज़ीलाई पिट्न थाले, उनको मरिसकेका बाउलाई समेत गाली दिए। अनि उनको ठेला सडकमा पल्टाई दिए। 

मोहम्मद बौज़ीज़ीले यस्तो अपमान पहिला पनि अनेकौँ चोटि भोगिसकेका थिए। यस पटक भने उनलाई यो कुरा सह्य भएन। उनी प्रान्तीय सरकारी अफिसमा यो घटनाको उजुरी गर्न पुगे। तर, त्यहाँ पनि उनको कुरा कसैले सुनेनन्। बरु, सरकारी कर्मचारीले उनलाई बेइज्जती गर्दै भगाइदिए।

मोहम्मद बौज़ीज़ी सरकारी कार्यालयबाट निस्के तर केही बेर पछि फेरी फर्केर आए। उनले आफ्नो जिउमा पेट्रोल छर्के र सलाई कोरेर आगो सल्काए। मोहम्मद बौज़ीज़ीको पुरै शरीरमा आगो सल्कियो। तर, यो उनले आफ्नो जिउमा मात्र आगो लगाएका थिएनन् । उनले पुरै ट्युनिसियाका जनताको मनमा आगो सल्काई दिएका थिए। जो दशकौँ देखी सरकारी दमन खपिरहेका थिए। विडम्बना हाम्रोमा भने प्रेमप्रसादको शरीरमा मात्र आगो दन्कियो। हामी कसैको मनमा दन्किएन।  

केही दिन पछि मोहम्मद बौज़ीज़ीको मृत्यु भयो। लाखौँ आम जनताहरू सडकमा उत्रे। प्रहरी र सेना पनि दमन गर्न पहिला जस्तै सडकमा उत्रियो। तर, यस पटक जनतामा सरकारको कुनै डर-त्रास बाँकी थिएन। बरु, बेन अलिको सत्ता त्रासमा थियो। केही महिनाको सङ्घर्षपछि बेन अलिले अपमानपूर्वक सत्ता छोडेर भाग्नु पर्‍यो। 

यो सघर्ष ट्यूनीशियामा मात्र सीमित भएन। यो अरब वसन्तको सुरुवात थियो। पुरै अरब जगतमा तानाशाहीको विरुद्धमा विद्रोह सुरु भयो। जसमा लाखौँ मानिसहरूको मृत्यु भयो। फलस्वरूप धेरै देशहरूमा स्वतन्त्रता आयो। चमेली क्रान्तिको नामले त्यो विद्रोहको लहर इतिहासमा दर्ज भइसकेको छ। 

ट्यूनीशिया पछाडि इजिप्टमा पनि तीन दशक देखी सत्तामा रहेका होस्नी मुबारक विरुद्ध विद्रोह सुरु भयो। उनले सत्ता छोड्नु पर्‍यो। लिबियाका गद्धाफीको हत्या भयो। यमनका तानाशाह अलि अब्दुल्ला सालेहले सत्ता छोड्नु पर्‍यो । पछि उनको हत्या भयो। सिरियामा ठुलो विद्रोह सुरु भयो। पछि त्यो गृह युद्धमा परिणत भयो। सुडानका बसिर गद्दीच्युत भए। अरब वसन्तको असरबाट कुनै पनि अरब देश बच्न सकेनन्। लेबनानमा पनि आन्दोलन सुरु भयो। अरब जगतमा यत्रो परिवर्तन सिर्फ एउटा व्यक्तिको कारणले भएको थियो जसले अत्याचार सहन इन्कार गरेका थिए। 

संसारमा विद्रोह र क्रान्ति किन हुन्छ भनेर धेरै व्याख्याहरू हुने गरेका छन्। ठुलठुला शास्त्रहरू यो विषयमा लेखिएका छन्। विद्रोह र क्रान्तिका कारणहरू मध्ये गरिबी, अत्याचार, दमन आदिलाई भन्ने गरिन्छ। यो सामान्यता सही पनि हो। तर, प्राय सबै देशहरूमा यो अवस्था विद्यमान हुन्छ। ती सबै देशहरूमा विद्रोह वा क्रान्ति हुँदैन। केही देशमा मात्र विद्रोह हुन्छ ।  विद्रोहको लागि सबै भन्दा अत्यावश्यक र जरुरी कुरा हो, जनतामा शासकको डर नरहनु। जुन दिन आम जनताले अब चाहिँ अति भयो भनेर सडकमा उत्रिनछन् त्यो दिन विद्रोह हुन्छ। तर, हाम्रो जस्तो कस्मेटिक 'इनफ इज इनफ' चाहिँ क्रान्ति वा विद्रोह केही होइन। त्यो केवल क्रान्तिकारी रोमाञ्चकताको भद्दा प्रहसन मात्र हो।  

हिजो एक जना युवा व्यवसायीले संसद्को अगाडी आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएर आत्महत्या गरे। उनले आत्मदाह गर्नुको कारण बारे जे कुरा लेखेका छन् त्यो उनको मात्र होइन सबै नेपाली उद्यमी र व्यबसायीहरुको साझा व्यथा हो। बैंकको मिटर व्याजी प्रवृत्ति र हाल नेपालको आर्थिक अवस्था हेर्दा प्रेम आचार्य मात्र होइन अरू धेरै व्यवसायीहरू पनि आत्महत्याको सङ्घारमा छन्। देशको आर्थिक अवस्था भयावह बनेको छ। एउटै आगोको झिल्कोले जङ्गलमा आगो लगाउन सक्छ। यो सत्यलाई आम नागरिकले शिरोधार्य गर्नु भन्दा पहिले नै सरकारले गम्भीरतापूर्वक सोचोस्। 

यदि सरकारले कहीँ केही नभए जस्तो गर्‍यो भने अब जरुरी छ प्रेमको शरीरमा लागेको आगोको झिल्कोले हाम्रो मनपनि जलाउनु पर्छ। विद्रोह जरुरी छ। आमूल परिवर्तन यदि समयले मागेकै हो भने इतिहासको गतिलाई कसैले पनि रोक्न सक्दैन। सामान्यतया इतिहासको पुनरावृत्ति हुँदैन भनिन्छ तर, आवश्यक पर्‍यो भने नेपाललाई अर्को ट्यूनीशिया र प्रेमप्रसाद आचार्यलाई अर्को मोहम्मद बौज़ीज़ी बनाउन हामी तयार हुनुपर्छ।