शीर्षकहरू

दोस्रो दिनसम्म ७ लाखभन्दा बढीले भरे सुपर मादी हाइड्रोपावरको आईपीओ

दोस्रो दिनसम्म ७ लाखभन्दा बढीले भरे सुपर मादी हाइड्रोपावरको आईपीओ

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि विक्रीमा ल्याएको आईपीओ दोस्रो दिनसम्म ७ लाख २६५ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड ( सिडिएससी) ले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट ८१ लख ५८ हजार ८३० कित्ता शेयर खरीद माग भएको हो । दोस्रो दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ४ दशमलव ६८ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको छ । सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । यी बाहेक बाँकी रहेको शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागिएको हो ।

सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीको यो आईपीओ माघ १२ गतेसम्म विक्रीमा रहनेछ । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले विक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।