शीर्षकहरू

नेपाल साना तथा मझौला व्यवसायी महासंघको नयाँ समिति गठन

नेपाल साना तथा मझौला व्यवसायी महासंघको नयाँ समिति गठन

काठमाडौं । नेपाल साना तथा मझौला व्यवसायी महासंघको ३३ सदस्यीय तदर्थ समितिको गठनसहित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार सम्पन्न भएको कार्यक्रममा विभिन्न पेशा व्यवसायमा दशकौदेखि आवद्ध व्यक्तिहरुको सामूहिक प्रयासबाट उक्त संस्थाको तदर्थ समिति गठन गरिएको छ ।

कूल ग्राहस्थ उत्पादन, रोजगारी, स्वउद्यमशीलताको विकास एवं विस्तार, स्थानीय कच्चा पदार्थको सदुपयोगलगायतमा उल्लेख्य योगदान गरिरहेका साना तथा मझौला व्यवसायलाई राज्यकोतर्फबाट उचित सम्बोधन नभइरहेको वर्तमान अवस्थामा स्थापित संस्थालाई महत्वका साथ हेरिएको बताइएको छ । 

उक्त समारोहका प्रमुख अतिथि माननीय राजेन्द्र कुमार केसीले मन्तव्य राख्ने क्रममा सबैलाई बधाई दिँदै साना तथा मझौला व्यवसाय प्रवद्र्धन गर्न संस्था र गठित समिति निस्वार्थरुपमा लागिपर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

साना उद्योग नभई ठुला उद्योग बन्न नसक्ने बताउँदै उनले सबै तहका मानिसहरु मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।  देशमा आर्थिक उदारीकरणको सुरुवातसँगै आर्थिक विकासमा साना तथा मझौला व्यवसायहरु प्रबर्धन गर्दै जानुपर्ने आजको मुख्य उद्देश्य हुनुपर्ने उनले उल्लेख गरे ।

एकातिर बेरोजगारी बढ्दै छ भने अर्कातिर व्यवसायहरु राम्रोसंग चल्न सकेका छैनन्, यसकारण हाम्रा साना तथा मझौला उद्योगहरुलाई विभिन्न तरिकाले प्रोत्साहन तथा सहयोग गरी राष्ट्रिय अर्थतन्त्र समृद्ध बनाउनका लागि उपयोग गर्नु जरुरी भएको र साना तथा मझौला ब्यवसायीलाई हाम्रोतर्फबाट पूर्ण सहयोग तथा सद्भाव रहेको सांसद केसीले बताए ।  

सो अवसरमा नेपालका साना तथा मझौला ब्यबसायी महासंघका संरक्षक साथै साना तथा मझौला ब्यबसायी महासंघका पूर्व अध्यक्ष जंगबहादुर श्रेष्ठले नेपालमा यस क्षेत्रको धेरै महत्व  भएको बताउदै साना ब्यवसायीहरुलाई प्रोत्साहन दिँदै अगाडि बढ्नुपर्ने बताए ।

त्यसैगरी तदर्थ समितिका अध्यक्ष दिपक प्रसाद आचार्यले सबै साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने वर्तमान समयको माग भएको बताए । देशभरी छरिएर रहेका सानासाना उद्यमीहरुलाई हामीले प्रोत्साहन गरी देशको आर्थिक विकासमा प्रभावकारीरुपले परिचालन गर्नु गराउनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी, सरकारले पनि लगानीमैत्री नीति र वातावरण निमार्णका साथै वित्तीय पहुँचमा सहजता तथा बजार व्यवस्थापनमा साना तथा मझौला व्यवसायहरुलाई सहयोग गर्न सकेमा देशको आर्थिक विकासमा अमूल्य टेवा पुग्न सक्ने धारणा व्यक्त गरे ।

नवगठित तदर्थ समितिका अध्यक्षमा दिपक प्रसाद आचार्य, सहअध्यक्ष धर्मानन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष तिलु घले, प्रथम उपाध्यक्ष प्रा प्रवलराज पोखरेल, द्वितिय उपाध्यक्ष विष्णु घर्तीमगर, तृतिय उपाध्यक्ष विजय सागर प्रधान, चौथौ उपाध्यक्ष सरिता थापा, महिला समूहकी उपाध्यक्ष मंजिला शर्मा, वस्तुगत उपाध्यक्ष डा बद्री पौडेल, एसोसिएट्स उपाध्यक्ष डा खोम खरेल, महासचिव डा गोपाल प्रसाद तिवारी, सचिव विरेन्द्र ठाकुर, कोषाध्यक्ष विश्व दुवालसहित ३३ सदस्यीय कार्यसमितिलाई प्रतिनिधि सभा सदस्यमा राजेन्द्र कुमार केसीले सपथग्रहण गराएका थिए ।