शीर्षकहरू

नेप्सेको खुद नाफा १६.४२ प्रतिशतले घट्यो

नेप्सेको खुद नाफा १६.४२ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को खुद नाफा १६.४२ प्रतिशतले घटेको छ । शुक्रबार कम्पनीले साधारणसभा मार्फत प्रकाशित गरेको ४१ औं वित्तीय विवरणमा यस्तो देखिएको हो । 

उक्त वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा कर पछिको खुद नाफा रकम रु. एक अर्ब ४० करोड ९६ लाख रहेको थियो । उक्त नाफा आव २०७८/७९ मा समग्र कारोबार रकम घट्न गई कर पछिको खुद नाफा रकम रु. एक अर्ब १७ करोड ८१ लाख रुपैयाँ रहेको छ । सो नाफामा गत आर्थिक वर्षको भन्दा १६.४२ प्रतिशतले ह्रास भएको देखिएको हो । 

त्यस्तै., आर्थिक वर्ष २०७७/७८ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको नेट वर्थ प्रति सेयर रु. ६१८.७४ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा नेट वर्थ प्रति सेयर रु. ६२०.५१ रहेको छ । त्यसैगरी सो अवधिमा नेप्सेका कारोबार रकम पनि घटेको देखिएको छ । आव २०७७/७८ मा कारोबार रकम रु. १४ खर्ब ५४ अर्ब ४४ करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा कारोबार रकम रु. १२ खर्ब २ अर्ब १० करोड रहेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुस ६ मा बसेको सञ्चालक समितिको १०४७ औं बैठकले आर्थिक वर्ष २०७८र७९ मा भएको मुनाफा मध्येबाट नियमानुसार आवश्यक व्यवस्था छुट्याई बाँकी सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी रु. १ अर्बमा नियमानुसार लाग्ने कर सहित १०० प्रतिशत नगद लाभांश (एक रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको छ । 

आर्थिक वर्ष २०७७र७८ मा चुक्ता पुँजी रु. ६० करोडको १०० प्रतिशत नगद लाभांश (रु. साठी करोड) तथा ६६.६७ प्रतिशत बोनस सेयर (रु.४० करोड बराबरको ४० लाख कित्ता) वितरण गरेको थियो ।