शीर्षकहरू

वनका रक्षक नै भक्षक: बाराका जंगलमा करोडौंको लुट, सरकारी बजेटको व्यापक दुरुपयोग

वनका रक्षक नै भक्षक: बाराका जंगलमा करोडौंको लुट, सरकारी बजेटको व्यापक दुरुपयोग

काठमाडौं । 'हरियो वन नेपालको धन' भन्ने उक्ति किम्बदन्ती मात्रै बनेको धेरै भइसक्यो। सरकारले जंगल जोगाउन खटाएका वन रक्षक नै भक्षक भएपछि वन जंगलको क्षेत्रफल तीव्र गतिमा घट्दै गएको छ । यसको पछिल्लो उदाहरणको रूपमा लिन सकिन्छ, बारा जिल्लाको सिगौल क्षेत्रमा जिल्ला वन कार्यालयका प्रमुखले नै वन फडानी गरेको घटनालाई। 

बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रका रूपमा बारा जिल्लाको वन व्यवस्थापनका नाममा गर्न मिल्ने/नमिल्ने सबै खालका काम भएको तथ्य फेला परेको छ। डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद समेतको मिलेमतोमा यस्तो करोडौ रकम बराबरको भ्रष्टाचार भएको देखिएको छ । वन कार्यालयका प्रमुखको मिलेमतो र सिगौल सामुदायिक वनका पदाधिकारी समेतको संलग्नतामा बन क्षेत्र फडानी गरेर केरा खेती गरेको समेत पाइएको छ । 

वैज्ञानिकका नाममा अवैज्ञानिक काम

वैज्ञानिक वन व्यवस्थापनको विभागीय मान्यता अनुसार वन प्राविधिक कमिटीमा कम्तीमा वन विज्ञानमा प्रवेशिका तह (आइएस्सी फोरेष्टी) उत्तीर्ण गरेको व्यक्ति हुनु पर्नेमा सो ठाउँमा अप्राविधिक व्यक्ति खटाई स्टिम म्यापिङ गर्ने काम भएको थियो। जसका कारण जिपिएस लोकेसन नै गलत हुँदा १० किलोमिटरसम्म गलत  (इरर) देखिएको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययन टोलीले फेला पारेको छ। 

निजगढ सिगौल सडक निर्माणको क्रममा करिब २०० वटा रुखहरू अनियमित तरिकाले कटान गरिए। यो घटना गुपचुप पार्न ठेकेदारबाट जिल्ला वन कार्यालयका प्रमुख मन्जुरले २० लाख रुपैयाँ लिए। उक्त गैर कानुनी तरिकाले रुख कटानको घटना यसरी राफसाफ बनाइएको पनि सतर्कता केन्द्रले फेला परेको हो। 

त्यस्तै, बारा पथलैया स्थित गढीमाई सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको नाममा साझेदारी वनको कार्य योजनामा भएको व्यवस्था विपरीत रुख कटानको नाममा ठेकेदारसँग मिलेमतो गरी ठुलो सङ्ख्यामा रुख कटान गरी अपारदर्शी ढंगले ३ जना ठेकेदार खडा गरी न्यूनतम गणपूरक सङ्ख्या नै नपुर्याइ विगत २ वर्षदेखि लिलामी गर्दै आएको केन्द्रको अनुसन्धानमा देखिएको छ । 

बारा जिल्ला कै जैतापुरमा समेत व्यापक वन फडानी भएको केन्द्रको अनुसन्धानमा देखिएको छ । त्यस्तै, निजगढ नगरपालिका अन्तर्गत सिगौलमा सामुदायिक वनले गैर कानुनी रूपमा रुख कटान गरी केरा खेती समेत गरेको समेत केन्द्रले गरेको अध्ययनमा नै फेला परेको हो । त्यसबाहेक जैतापुरको जंगलमा व्यापक जंगल फडानी भएको र महादेवकाटुमा दर्जनौँ सालको रुख काटिएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । 

करोडौँको लुट

आव २०७६/०७७ को वार्षिक कार्यक्रममा सामुदायिक वनको कार्य योजना निर्माणको लागि पथलैया सामुदायिक वन र वन शक्ति सामुदायिक वनको कार्य योजना निर्माणमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा उक्त शीर्षकको रकम कार्यविधि अनुसार खर्च नगरी तत्कालीन सहायक वन अधिकृत सुशील यादवले पेस्की लिई आफूखुसी रकम खर्च गरेको केन्द्रको रिपोर्टमा उल्लेख छ । 

त्यस्तै, वन क्षेत्रमा अतिक्रमण गरेर बसेका टागिया बस्तीमा नेपाल विद्युत् प्राधिकरणले करोडौँ लगानी गरेर विद्युतीकरणको ठेक्का समेत लगाएको छ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने वनमा रहेको रुखहरू कटानका लागि सम्बन्धित मन्त्रालयबाट रुख गणनाको लागि डिभिजन वन अधिकृत मन्जुर अहमदले २ करोड ६४ लाख रुपैयाँको लागत बनाई उक्त रुख कटानमा सार्वजनिक टेन्डर समेत आह्वान नगरी आफैले दुरुपयोग गरेको देखिएको छ। उक्त भ्रष्टाचारजन्य अपराधको छानबिन गर्नका लागि सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान आकर्षण गराएको छ ।