शीर्षकहरू

बीमा क्षेत्रमा यसरी देखियो आर्थिक संकटको असर

बीमा क्षेत्रमा यसरी देखियो आर्थिक संकटको असर

काठमाडौं । आर्थिक मन्दीको असर सर्वसाधारणको तहसम्म पनि कसरी पर्दैछ भन्ने एउटा प्रमाण बीमा पोलिसी सरेन्डर गर्नेहरुको तथ्यांकले पुष्टि गरेको छ । कात्तिक महिनामा भन्दा मंसिर महिनामा सरेन्डर गर्नेहरुको संख्या बढेको तर, सरेन्डर रकम घटेको देखिएपछि यस्तो निष्कर्ष निकालिएको हो । 

मंसिरमा बढ्यो सरेन्डरको संख्या
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर महिनामा ७ हजार ६५० बीमालेख सरेन्डर भएका छन् । सो सरेन्डरको रकम भने एक अर्ब १ करोड ६२ लाख रुपैयाँ रहेको छ । जबकी अघिल्लो महिना अर्थात कात्तिकमा सरेन्डर गर्ने बीमालेखको संख्या ६ हजार ७४६ रहेको थियो । मंसिर भन्दा कम बीमालेख सरेन्डर भएपनि त्यस बेलाको बीमा सरेन्डर रकम भने एक अर्ब ११ करोड ९७ लाख रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

देखियो गहिरिँदो आर्थिक संकट
तथ्यांकको विश्लेषण गर्दा सहजै के देखिन्छ भने साना रकमका बीमालेखहरु पनि सरेन्डर गर्नपर्ने बाध्यतामा बीमितहरु पुगेका छन् । यो त्यसकारण भइरहेको छ की । सर्वसाधारणको तहसम्म आर्थिक संकट गहिरिँदो छ । 

सामान्यतया बीमा गर्ने मानिसहरु भनेका नियमित आयस्रोत भएका रहने गरेका छन् । जब नियमित आयस्रोतमा अनिश्चतता देखापर्छ तब मानिसहरुले घटाउन मिल्ने लगानीका क्षेत्रहरुमा खर्च कटौती गर्छन् । हाम्रो समाजमा त्यो क्षेत्रको रुपमा बीमा पर्ने गरेको छ । 

नियमित प्रिमियम तिर्न नसकेर बिचमै पोलिसी सरेन्डर गर्दा बीमितलाई ठुलै आर्थिक नोक्सानी हुने गर्छ । त्यस्तो नोक्सानी बहन गर्न तयार भएर बीमा सरेन्डरको निर्णयमा बीमितहरु पुग्नुले उनीहरु वास्तविक रुपमा नै आर्थिक रुपमा अप्ठ्यारोमा पर्दैछन् भन्ने संकेत गर्छ । 

काम लागेन निरुत्साहित गर्ने नीति     
बीमा प्राधिकरणले सरेन्डरलाई निरुत्साहित गर्न पटक पटक कडा र आर्थिक रुपमा बीमितहरुलाई नोक्सानी हुनेखालका नीतिहरु अगाडी सार्दा समेत सरेन्डरको क्रम नघट्नु बीमा क्षेत्रको लागि नै चुनौतीको विषय बनेको छ । यसरी बीमितहरुले बिचैमा बीमालेख सरेन्डर गर्दा बीमा कम्पनीहरुलाई पनि उस्तै गाह्रो अवस्था आउने गर्छ । 

ठुलो संख्यामा सरेन्डर भएको खण्डमा उनीहरुबाट संकलन हुने प्रिमियमलाई समेत गणना गर्दौ कम्पनीहरुले तयार गरेका आर्थिक र लगानीका योजनाहरुमा सरेन्डरको सिधा प्रभाव पर्ने गर्छ । जसले अप्रत्यासित रुपमा बीमा कम्पनीहरुलाई आर्थिक असहजताको अवस्थामा समेत पुर्याउने जोखिम बढ्छ ।

अभिकर्ताको कमजोरी
यस अलवा बीमा अभिकर्ताहरुले क्षणिक कमिशनको लोभमा बीमितहरुलाई गलत ढंगले पोलिसीको व्याख्या गर्ने गरेका कारण पनि बीमालेख सरेन्डर हुने गरेको छ । यस्तो अवस्थामा जब बीमितहरुले आफूले खरिद गरेको बीमालेख वास्तवमा आफ्नो रोजाई र उद्देश्यका लागि उपर्युक्त होइन भन्ने बुझ्छन् । त्यसपछि केही आर्थिक क्षति बहन गरेरै भएपनि बीमालेख सरेन्डर गर्ने गर्छन् । 

त्यस बाहेक अभिकर्ताहरुले बीमितहरुको आर्थिक क्षमताको विश्लेषण नगरी उनीहरुले बहन गर्न सक्ने भन्दा ठुलो रकमको बीमालेख खरिद गराउने गरेका कारण पनि सरेन्डरको समस्या आउने गरेको बीमा कम्पनीका सञ्चालकहरुले बताउने गरेका छन् । 

मंसिरमा कुन कम्पनीको कति भए बीमालेख सरेन्डर ? 
बीमा प्राधिकरणका अनुसार मंसिर महिनामा नेपाल लाइफ इन्स्योेन्सको सर्वाधिक बीमा पोलिसी सरेन्डर भएका छन् । यस अवधिमा उक्त कम्पनीको ३३ करोड १ लाख ९८ हजार रुपैयाँ बराबरको २ हजार ४७२ बीमालेख सरेन्डर भएका छन् । 

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ७ करोड ९७ लाख ५९ हजार रुपैयाँ बराबरको ७६२ बीमालेख सरेन्डर भएका छन् । सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ११ करोड ८६ लाख २४ हजार रुपेयाँ बराबरको ७१० बीमालेख र लाइफ इन्स्यारेन्स कर्पोरेशनको १८ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको ५७२ बीमा पोलिसी सरेन्डर भएका छन् । 

प्राधिकरण अनुसार मंसिरमा मेट लाइफका बीमितहरु २ करोड ५० लाख १९ हजार रुपैयाँ बराबरको २८७ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यसैगरी, यस अवधिमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड २८ लाख ५१ हजार रुपेयाँ बराबरको ४८३ बीमालेख सरेन्डर भएका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको मंसिर महिनामा गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ९५ लाख ६९ हजार रुपैयाँ बराबरको १८६ बीमालेख सरेन्डर भएका छन् । सोही अवधिमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १ लाख ५० लाख रुपैयाँ बराबरको १७९ बीमा पोलिसी र प्राइम  लाइफ इन्स्यारेन्सको ८ करोड २३ लाख ८४ हजार रुपैयाँ बराबरको १ हजार ४५३ बीमा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणका अनुसार यस अवधिमा आइएमई लाइफ इन्स्यारेन्सको ३७ लाख ६७ हजार रुपैयाँ बराबरको ४१ बीमालेख, युनियन लाइफको ३ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको ४८ बीमालेख, ज्योति लाइफका १ करोड ३९ लाख ७१ हजार रुपैयाँ बराबरको ८७ बीमालेख र सन नेपाल लाइफ इन्स्योरेन्सको ३७ लाख ४६ हजार रुपैयाँ बराबरको ३९ बीमा पोलिसी सरेन्डर भएका छन् । 

त्यस्तै, मंसिर महिनामा रिलायबल नेपाल लाइफ इन्स्यारेन्सको ५० लाख ७६ हजार रुपैयाँ बराबरको १०४ बीमालेख सरेन्डर भएका छन् । यसै अवधिमा सिटिजन लाइफ इन्स्यारेन्सको ४३ लाख १८ हजार रुपैयाँ बराबरको ७१ बीमालेख, सानिमा लाइफ इन्स्यारेन्सको ३६ लाख ९६ हजार बीमालेख सरेन्डर भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ६४ लाख १० हजार रुपैयाँ बराबरको ३८ बीमालेख सरेन्डर भएका छन् भने महालक्ष्मी लाइप इन्स्योरेन्स कम्पनीको ३४ लाख ७१ हजार रुपैयाँ बराबरको २७ बीमालेख सरेन्डर भएका छन् ।