शीर्षकहरू

खस्किएछ व्यवसायीको मनोबल, आएन उद्योगमा लगानी

खस्किएछ व्यवसायीको मनोबल, आएन उद्योगमा लगानी

काठमाडौं । औद्योगिक नगर विराटनरदेखि भैरहवासम्मका उद्योगी व्यापारी अहिले आन्दोलित छन् । चर्कोे ब्याजदर र राष्ट्रले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाको असर आफ्नो व्यवसायमा परेको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् । 

हाल व्यापार व्यवसाय र उद्योग सञ्चालन गरिहेका उद्योगी व्यवसायीहरु आन्दोलित बन्दा त्यसको असर नयाँ उद्योग दर्तामा पनि देखिएको छ । उद्योग विभागले प्रकाशित गरेको तथ्यांक हेर्ने हो भने उद्योग क्षेत्रमा स्वदेशी लगानी निरन्तर रुपमा घट्दो देखिन्छ । 

कात्तिक महिनाको तुलनामा मंसिरमा १४ अर्ब रुपैयाँ भन्दा बढिले उद्योग क्षेत्रको लगानीमा कमी आएको छ । गत कात्तिकमा २० अर्ब ५२ करोड ८ लाख रुपैयाँ बराबरको स्वदेशी लगानीका उद्योग दर्ता भएका थिए । तर, मंसिर महिनामा भने ६ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ बराबरको मात्रै उद्योग दर्ता भएका छन् । 

उद्योग विभागका उद्योग दर्ता तथा इजाजत शाखाका निर्देशक घनश्याम न्यौपाने भने स्वदेशी उद्योगमा लगानी घट्नुको कारणका रुपमा आर्थिक मन्दी जिम्मेवार रहेको औल्याउँछन् । न्यौपाने भन्छन्, ‘गत कात्तिक महिनाको तुलनामा मंसिरमा उद्योग क्षेत्रमा स्वदेशी लगानी घटेको छ । स्वदेशी लगानी घट्नुमा आर्थिक मन्दीको असर हुनसक्छ । यसका साथै मंसिरमा भएको निर्वाचनले पनि उद्योग क्षेत्रको लगानी खस्किएको हो ।’

तर, अर्थविद् भने न्यौपानेको कुरासँग सहमत देखिदैनन् । संरचनागत समस्या र शासकिय समस्याका कारण उद्योगमा लगानी बढ्न नसकेको अर्थविद् रामेश्वर खनाल बताउँछन् । उद्योगमा लगानी गर्ने प्रवृतिमा बढोत्तर नआएको बताउँदै उनले भने, ‘उद्योग सञ्चालन गर्नका लागि लामो प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । उद्योग खोल्नका लागि आवश्यक प्रक्रिया हाम्रोमा सहज छैन । सहज प्रक्रिया निर्माण गर्न सरकारले साथ पनि नदिएको अवस्था छ ।’  

साथै, उद्योग सञ्चालनका लागि आवश्यक संरचना समेत नेपालमा उपलब्ध नहुने भएका कारण पनि उद्योगमा लगानी नबढेको उनको तर्क रहेको छ । ‘कुनै लगानीकर्ताहरुले नेपालमा ठूलो उद्योग सञ्चालन गर्न चाह्यो भने निश्चित स्थान भन्दा बाहिर जान सक्दैन । सुदुरपश्चिममा कसैले ठूलो उद्योग खोल्छु भन्यो भने त्यहाँ विद्युत आपर्ति नै हुँदैन । सिमेन्ट र रड मात्र पुर्याएर उद्योग सञ्चालन गर्न सकिैदैन’, उनले भने ।

उद्योग क्षेत्रमा लगानी घट्नुको कारणबारे उद्योगीहरुले राख्ने मत खनालसँग भने मेल खान्छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष समेत रहेका रामहिरा पाठक भन्छन्, ‘उद्योगमा लगानी घट्नुमा सरकार दोषी छ । झन्झटिलो संयन्त्रका कारण यस क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरु रुचाउँदैनन् । त्यति मात्रै होइन सरकारले उद्योगीहरुलाई साथ नदिएकोले पनि नयाँ लगानीकर्ता आउन नमानेका हुन् ।’ साथै उनले सरकारले देशमा उद्योग धन्दा नगर्ने नीति लिएको आरोप पनि लगाए । 

मंसिर महिनामा ६ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ लगानीका १८ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगहरुमा सबैभन्दा बढि निर्माण क्षेत्रका उद्योगहरुमा लगानी प्रतिवद्धता आएको छ । विभागका अनुसार यस अवधिमा निर्माण क्षेत्रका आठ वटा उद्योगका लागि १ अर्ब २५ करोड ६० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

त्यस्तै, पर्यटन क्षेत्रका तीन वटा उद्योगका लागि ६० करोड रुपैयाँ, सेवामुलक क्षेत्रका चार उद्योगका लागि ३० करोड २७ लाख रुपैयाँ, जलविद्युत्त क्षेत्रका लागि ३ अर्ब ८७ करोड ७६ लाख, खनिज क्षेत्रका लागि १९ करोड ४० लाख र कृषि तथा वन क्षेत्रका उद्योगका लागि ८५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।