शीर्षकहरू

भारतमा भन्दा नेपालमा किन अचाक्ली बढ्यो महँगी ?

भारतमा भन्दा नेपालमा किन अचाक्ली बढ्यो महँगी ?

काठमाडौं । भारत नेपालको प्रमुख व्यापारिक साझेदार हो र यहाँ उपभोग हुने अत्यधिक वस्तु भारतबाटै आयात हुन्छन् । नेपाली मुद्राको विनिमय दरसमेत भारतीय रुपयासँग आबद्ध छ । यस्तोमा भारतमा हुने कुनै पनि आर्थिक परिवर्तनले नेपाललाई तत्कालै प्रभावित गरिहाल्छ, जुन स्वाभाविक देखिन्छ । भारतमा महँगी बढ्दा नेपालमा पनि बढ्छ । यो पनि स्वाभाविक हो तर भारतमा महँगी वृद्धिदर घट्दा नेपालमा घटेन । नघट्नुलाई सामान्य नै मान्न सकिए पनि उल्टै बढेको छ जुन स्वाभाविक मान्न सकिँदैन ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव. २०७९/८०) को साउनमा भारतको तुलनामा नेपालमा मूल्यवृद्धि १ दशमलव २६ प्रतिशत बिन्दुले मात्र बढी थियो । तर, कात्तिकमा आइपुग्दा नेपालको मूल्यवृद्धि भारतको भन्दा २ दशमलव २ प्रतिशत बिन्दुले बढी छ ।

चालू आवको साउनमा नेपालमा मूल्यवृद्धि ८ दशमलव २६ प्रतिशत हुँदा भारतमा ७ प्रतिशतमात्र थियो । भदौमा नेपालमा यो बढेर ८ दशमलव ६४ पुग्दा भारतमा ७ दशमलव ४१ प्रतिशत पुग्यो । कात्तिकमा नेपालमा मूल्यवृद्धि ८ दशमलव शून्य ८ प्रतिशतमा झर्दा भारतको भने ५ दशमलव ८८ प्रतिशतमा झरेको छ । यसरी साउनदेखि कात्तिकसम्म भारतमा भन्दा नेपालमा उच्च महँगी छ । त्यसअघिका चार महीना नेपालभन्दा भारतमा महँगी बढी थियो । साउनपछि पनि भारतभन्दा नेपालको महँगी निरन्तर बढिरहेको छ । भारतबाटै आयात हुने सामानमा भारतमा मूल्य घट्दा नेपालमा किन घटेन भन्ने उपभोक्ताको भनाइ छ । 

हुन पनि स्रोत मुलुकमा नै मूल्य घटेपछि नेपालमा पनि घट्नुपर्ने हो । तर, मूल्य नघट्नुमा नेपाल सरकारको नीति प्रमुख दोषी मानिन्छ । कुनै वस्तुको मूल्य निर्धारणमा ढुवानी खर्चको पनि भूमिका हुन्छ । भारतबाट बारम्बार मूल्य घटेर आउँदा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएन । भर्खरै रु. ३ रुपैया“ प्रतिलिटर घटाएको छ जुन नाममात्रको हो । यसले ढुवानी भाडामा असर गर्ने भएकाले पनि मूल्यवृद्धि नियन्त्रणमा आउन नसकेको हो ।