शीर्षकहरू

नेप्सेद्वारा दुई कम्पनीको शेयर कारोबार रोक्का

नेप्सेद्वारा दुई कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कालिका पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर कारोबार बिहीवारदेखि रोक्का गरेको हो । दुबै कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सुचना सार्वजनिक गरेको भन्दै नेप्सेले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भन्दै कारोबार रोक्का गरेको हो । 

कालिका पावर कम्पनीले पुस ६ गतेको सञ्चालक समितिको बैठकले लाभांश वितरणको निर्णय गरी पुस ७ गते कारोबार समय अर्थात ११ बजेर ३६ मिनेटमा र मल्टीपर्पस फाइनान्सले पुस ६ गते सञ्चालक समितिको बैठक मार्फत गरेको लाभांश सम्बन्धि निर्णय पुस ७ गते कारोबार समय अर्थात ११ बजेर १८ मिनेटमा सार्वजनिक गरेको नेप्सेको भनाई छ ।

कालिका पावरले गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबा कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६९ करोड को आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । मल्टीपर्पस फाइनान्सले भने यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था यी दुई कम्पनीले पालना नगरेको भन्दै नेप्सेले तीन दिनभित्र के कति कारणले समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न भनेको छ ।