शीर्षकहरू

सुपर मादी हाइड्रोपावरको आईपीओ स्थानीयले पुस २० गतेसम्म पाउने

सुपर मादी हाइड्रोपावरको आईपीओ स्थानीयले पुस २० गतेसम्म पाउने

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गते देखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले पुस २० गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । 

वैदेशिक रोजगारीमा गएका नेपालीले भने पुस ५ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयले छिटो अवधि पुस ५ गतेसम्म माग बमोजिम आवेदन पेश नगरेकाले ढिलो अवधि पुस २० गतेसम्मको मिति तय गरेको हो ।

कम्पनीले सर्वसाधारणमा कुल रू. ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । अनुमति पाएको कुल कित्तामध्ये पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयन र बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो । 

आयोजना प्रभावित स्थानीयमध्ये पनि अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता छुट्याएको छ । 

कम्पनीले सर्वसाधारणलाई विक्री गरिने २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स बचत खातामार्फत आईपीओ भर्न सक्नेछन् । दुबै समूहका लगानीकर्ताले शेयर खरीदका लागि आवेदन दिदाँ न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् ।

 वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण लाग निर्माण अवधिको ब्याज सहित कुल रू. ८ अर्ब ३५ करोड रहने अनुमान गरिएको छ । प्रतिमेगावाट लागत भने रू. १८ करोड ९७ लाख ७२ हजार रहने अनुमान कम्पनीको छ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. २५ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव ८० रहेको छ ।