शीर्षकहरू

राजस्व चुहावट गरी भ्रष्टाचार गर्ने सात जनाविरुद्ध मुद्दा दायर

राजस्व चुहावट गरी भ्रष्टाचार गर्ने सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आइतबार राजस्व चुहाव गरी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालिन अध्यक्षसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेले आर्थिक वर्ष २०७५/७६ मा तेमाल गाउँपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न बगरमा रहेको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा उपयोग गरी राजस्व संकलन गर्न २०७५ मंसिर १८ गते प्रकाशन भएको सूचनामा बोलपत्रदाताहरूले बोलपत्र पेस गरेकोमा सूचनामा उल्लेख भएभन्दा कम परिमाणमा मात्र नदीजन्य पदार्थ उत्खनन् संकलन गर्ने भनी कबोल अङ्कभन्दा घटी सम्झौता रकम कायम गरी ठेक्का सम्झौता गरेको पाइएको छ । त्यस्तै, उनीहरुले सम्झौता बिपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी फर्महरुलाई ईजाजतपत्र दिएको पाइएको छ । 

त्यस्तै, उनीहरुले स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा मङ्सिर, पौष र माघ महिनामा मात्र जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानी एवं रेखदेखमा स्काभेटर मेसिन प्रयोग गरी उत्खनन् गर्न सकिने व्यवस्था भएकोमा आफूहरुलाई नभएको अधिकारसमेत प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन÷सङ्कलन गर्नको लागि स्काभेटर मेसिन समेत प्रयोग गर्न स्वीकृति दिएको पाइएको आयोगले जनाएको छ । कबोल अङ्क घटाएर सम्झौता रकम कायम गरी दुई करोड ५७ लाख २ हजार १९८ रुपैयाँ घटी राजस्व संकलन गर्ने गरी कार्य गरेको देखिएको आयोगले जनाएको छ । उक्त रकमको दोब्बरले हुन आउने रकम पाँच करोड १४ लाख चार हजार तीन सय सन्तानब्बे रुपैयाँ आठ पैसा जरिवाना हुन समेतको मागदावी लिइएको छ । 

एएण्ड डिबि कन्ष्ट्रक्सन प्रालिका संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङले आ.व. २०७५/७६ मा तेमाल गाउँपालिकाबाट सूचना प्रकाशन भएकोमा ठेक्का नं. ट–०७५/०७६ र ठेक्का नं. ठ–०७५/०७६ मा गाउँपालिकासँग भएको सम्झौता विपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी इजाजतपत्र लिई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधान विपरीत मेसिनद्वारा उत्खनन् संकलन कार्य गरी ५२ लाख २३ हजार छ सय तेह्र रुपैयाँ तेत्तीस पैसा राजस्व हानिनोक्सानी पुर्याएको आयोगले जनाएको छ  । 

दुवाकोट कन्स्ट्रक्सन प्रालि भक्तपुरका संचालक राम चन्द्र प्रसाद प्रधानाङ्गले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधान विपरीत मेसिनद्वारा उत्खनन् संकलन कार्य गरी एक करोड उनन्तीस लाख पैतालीस हजार दुई सय एकाउन्न रुपैयाँ अठासी पैसा मात्र राजस्व हानिनोक्सानी पुर्याएको देखिएको छ । यस्तै सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक वेद नारायण दंगालले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधान विपरीत मेसिनद्वारा उत्खनन् संकलन कार्य गरी पचहत्तर लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ राजस्व हानिनोक्सानी पर्याएको आयोगको आरोप छ ।

सालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र दुवाकोट कन्स्ट्रक्सन प्रालिका आधिकारिक प्रतिनिधि सत्यमान लामाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका प्रावधानहरु बिपरीत मेसिनद्वारा उत्खनन् संकलन गरी तीनवटा ठेक्काहरुमा दुई करोड चार लाख अठहत्तर हजार पाँच सय पचासी रुपैयाँ राजस्व हानिनोक्सानी पुर्याएको आयोगले जनाएको छ ।