शीर्षकहरू

नेप्सेमा सूचिकृत कम्पनीका सञ्चालक वा पदाधिकारीले शेयर कारोबार गर्न नपाउने

नेप्सेमा सूचिकृत कम्पनीका सञ्चालक वा पदाधिकारीले शेयर कारोबार गर्न नपाउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमा सञ्चालक तथा पदाधिकारी रहेका व्यक्तिले आफ्नो शेयर खरिदबिक्री गर्न नपाउने भएका छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ नियम ३८ (१) (क)ले व्यवस्था गरे  अनुसार सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्तिले पदमा रहदा र पद छोडेको एक वर्षसम्म शेयर कारोबार गर्न रोक लगाएको छ ।   

धितोपत्र नियमावली अनुसार सो पदबाट बाहिरिएको एक वर्षसम्म पनि शेयर खरिद वा बिक्री गर्न नपाइने व्यवस्थालाई थप रुपमा कार्यान्वयन गराउनका लागि सूचना जारी गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । उनले भने, 'सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति वा कम्पनीको प्रमुख पदमा बसेका व्यक्तिहरुले सोहि कम्पनीको शेयर कारोबार गर्नका लागि रोक लगाएकाले उक्त कानुनी व्यवस्थालाई कार्यान्वयन गरान सूचना जारी गरेका हौं ।'

नेप्सेले जारी गरेको सूचनामा उक्त कम्पनीहरुमा रहेका व्यक्तिहरुको एकाघरपरिवारका सदस्यहरुका बारेमा पनि यस्तो व्यवस्था गरिएको छ, ‘कम्पनीको वा त्यसको सहायक कम्पनीको शेयर आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न पनि रोक लगाएको छ ।’