शीर्षकहरू

चार महिनामा दुई हजार आठ सय गाडी आयात

चार महिनामा दुई हजार आठ सय गाडी आयात

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा दुई हजार आठ सयभन्दा बढी साना सवारी साधन आयात भएको छ । चालू आवको साउनदेखि कात्तिकसम्म दुई हजार ८ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन आयात भएको हो । 

भन्सार विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी भाद्र महिनामा गाडी आयात भएको देखिन्छ । यस महिना आठ सय ९ वटा गाडी आयात भएको छ । भाद्रपछि असोज महिनामा धेरै गाडी आयात भएको छ । यस महिना ७४९ वटा गाडी आयात भएको छ । 

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सात सय ११ वटा गाडी आयात भएको छ । यस महिना सबैभन्दा बढी स्पोर्ट कार, महिन्द्राको गाडी र विद्युतीय गाडी आयात भएको देखिएको छ । 
गत महिना कात्तिकमा पनि पाँच सयभन्दा बढी गाडी नेपाल भित्रिएका छन् । यस महिना पाँच सय ५८ वटा गाडी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

उता, सरकारले लामो समयदेखि आयातमा प्रतिबन्ध लगाएको छ । गत बैशाखदेखि सरकारले विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै विद्युतिय बाहेकका सवारीसाधन आयात गर्न प्रतिबन्ध लगाएको छ । गएको वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लागेको थियो । सरकारले सवारीसाधनसहित १० वटा वस्तुमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध यहि मंसिर २८ गतेसम्म रहेको छ ।  

गाडी आयातमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न माग गर्दै नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालले आन्दोलनको कार्यक्रम नै घोषणा गरेको छ । आयात प्रतिबन्धका कारण अटोमोबाइल व्यवसायीहरु पलायन हुन थालेको भन्दै आयात खुल्ला गर्नै उनीहरुले माग गरेका छन् । 

नाडामा अनुसार आयात प्रतिबन्धका कारण हालसम्म ५८ वटा डिलरहरु बन्द भइसकेको र अन्य सयौं शोरुम  बन्द हुने चरणमा पुगेको छ । यस्तो संकटको घडीमा समेत राज्यले नहेकोले मंसिर २२ गतेसम्म दबाबका कार्यक्रमहरु गर्ने घोषणा गरेका छन् । यसका साथै विगत ८ महिनादेखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पांग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नु पर्ने समेत अटो व्यवसायीहरुको माग रहेको छ ।