शीर्षकहरू

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी
प्र्र्रतिकात्मक तस्विर

वेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोजे । तर केही पाएनन । आफ्नै काम गर्न उहाँसँग लगानी पनि थिएन । त्यसपछि निराश बन्दै क्षेत्री कामको खोजीमा वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) हान्निनुभएका थिए । 

विदेशमा तीन वर्ष काम गरेर फर्किएका क्षेत्रीले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो बनाउने विन्ध्याबासिनी लघु उद्योग खोलेका छन । “विदेशमा पेट्रोलपम्पमा तीन वर्ष काम गरेँ, त्यहाँबाट फर्किएपछि स्वदेशमै उद्यम गर्ने सोच आयो”, उनले भने, “बुवा वन कार्यालयमा जागिरे थिए उनकै सल्लाहअनुसार बेत, बाँसको काममा लागेँ ।”

भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा क्षेत्रीले तीन कठ्ठा जमिन भाडामा लिएर उद्योग खोलेका छन । वैदेशिक रोजगारीको मोह छाडेर उहाँ अहिले स्वदेशमै उद्यममा जमेका छन । वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उहाँको कमाइको मुख्य स्रोत बनेको छ ।

“सुरुमा एउटा कोठाबाट सुरु गरेको काम अहिले विस्तार भएको छ, सुरुमा आफ्नो रु २० लाख लगानी गरेका थियौँ”, उनी भन्छन, “अहिले बैंकबाट रु २६ लाख जति ऋण लिएका छौँ ।”

क्षेत्रीले आफूले स्वदेशमै मात्रै रोजगारी पाएका छैनन, अरु १० जना पनि उद्योगमा रोजगारी दिएका छन । बेत, बाँसको फर्निचर तथा कुचो बनाउने उद्यममा सक्रिय क्षेत्री स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी छन ।

“फर्निचर बनाउने मिस्त्री तथा कुचो बनाउने गरेर १० जनाले उद्योगमा रोजगार पाएका छन्, वार्षिक रु ३० लाखसम्मको कारोबार हुन्छ”, उनले भने, “स्वदेशमै काम गरेर परिवार पालिरहेको छुँ, विदेशमा परिश्रम बेच्नुभन्दा स्वदेशमै काम गर्नु राम्रो छ ।”

बेत, बाँसका फर्निचर तथा कुचोको माग धेरै आउने गरेको उनी बताउछन। सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उनको भनाइ छ । “बजारमा माग बढी छ, हामी सुदूरपश्चिमका नौवटै जिल्लामा उत्पादित सामग्री पठाउँछौँ”, उनी भन्छन, “बेत कैलालीबाट ल्याउने गरेका छौँ भने अर्मिसो डडेल्धुरा, पाल्पा तथा झापाबाट ल्याउँछौँ ।”

कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यम गर्न क्षेत्रीको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उनले भने, “त्यहाँ गर्ने मेहेनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।”

सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउछन ।“लगानी नहुँदा बैंकबाट ऋण लिनुपर्छ, त्यसमा ब्याजदर चर्को हुनाले समस्या हुने गरेको छ”, क्षेत्रीले भने, “कम ब्याजमा ऋण पाइएमा युवा लगानी गरेर स्वदेशमै रोजगारीसँग जोडिन सक्थे ।” रासस