शीर्षकहरू

सहकारीको भागाभाग, सर्वसाधारणको रुवाबासी

सहकारीको भागाभाग, सर्वसाधारणको रुवाबासी

काठमाडौ । नेपाल सरकार वा संघीय सरकारले उच्चतम अधिकार स्थानीय सरकारलाई प्रवाह गरेको छ । बजार अनुगमनदेखि व्यवसाय व्यापार दर्ता गराउन वा खारेज गर्न, जरिवाना तथा कारबाही गर्न, संघसंस्था दर्ता गराउने सम्बन्धी अधिकार सरकारले स्थानीय तहलाई नै दिएको छ । प्रायजसो धेरै अधिकार सरकारले स्थानीय तहलाई दिएको छ । 

पछिल्लो समय दिनहुँ हजारौँ जनताहरु वडा वा महानगर तथा नगरमा एउटै गुनासो लिएर जान्छन् । त्यो हो, सहकारीले पैसा दिएन, सहकारी भाग्यो । त्यस्तै प्रहरी चौकीमा पनि मानिसहरु सहकारीले पैसा फिर्ता दिएन वा भाग्यो भन्दै गुनासो पोख्न जान्छन् । झन् जिल्ला–जिल्लाका सहकारी कार्यालयमा त मानिसहरु सहकारीले पैसा फिर्ता गरेन वा भाग्यो भन्दै रुने वा बेहास् हुने जस्ता घटनाहरु पनि घटिरहेको पाइन्छ । 

दशैँपछि यसैसम्बन्धमा अध्ययन तथा अनुगमन गर्न दश पटकभन्दा बढी हामी काठमाडौँको मिनभवन स्थित रहेको सहकारी विभागमा गयौँ । त्यहाँ पनि दिनहुँ हजारौँ मानिसहरु सहकारी कै गुनासो लिएर आउँछन् र उनीहरुको एउटै कुरा हुन्छ । सहकारीले पैसा फिर्ता गरेन, सहकारी भाग्यो र १० वर्षअघि १० लाख लिएको ऋण अहिले ३५ लाख तिर्दा पनि धितो फुक्का गरेन । 

बचतकर्ता भन्छन्,  धितो राखेर ऋण लियो तर ऋण चुक्ता गर्दा पनि धितो फुक्का गरेन त कुनै भन्छ, १ लाख ऋण लिएको ५ लाख तिर्दासमेत अझै बाँकी छ भन्छ । त्यस्तै यता कुनै भन्छ, ३ करोड रुपैयाँको धितो राखेर १ करोड रुपैयाँ ऋण लिएको तर २ करोड रुपैयाँ तिर्दापनि अहिलेसम्म धितो फुक्का गर्दैन । 

अझै उनीहरु भन्छन्, पहिला कर्जा दिने समयमा ब्याज १६ प्रतिशत भनिन्छ तर हिसाब गर्दा ५० प्रतिशतसम्म पुग्छ । अहिले यस्तो समस्या लिएर आउने सर्वसाधारणहरु सहकारी विभागमा यत्तिकै भेटिन्छन् । एक थरी भन्छन् त ऋण लिएको पैसा दोब्बर तिर्दा पनि धितो फुक्का भएन त अर्को थरी भन्छन्, राखेको पैसा फिर्ता आएन ।  

तर यता सहकारी विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित सर्वसाधारणको गुनासो नसुनेको बचतकर्ताले दैनिक गुनासो पोख्छन् । पछिल्लो समय सर्वसाधारणको एउटै गुनासो रहेको छ, हाम्रो कुरा न वडा वा नगरले नै सुन्छ न त विभागले । के सरकारले सहकारीलाई जनता जतिपनि ठग्ग भनेर छुट दिएको हो । होइन भने किन जनता डुबाउने वा ठग्ने सहकारीलाई कारबाही गरिदैँनन् । 

हजारौं जनताको १४ खर्ब रुपैयाँ रकम ३५ हजार २ सय ३९ वटा सहकारीमा डुबेका छन । यो पैसा त आज बालुबामा पानी हालेको बराबर भएको छ । अब यो पैसा उठाउन कुनै विकल्प नै छैन, त्यसैले जनताले पनि अब यो रकम माया मार्नुपर्छ । विभागका एक कर्मचारीका अनुसार हिजो पैसा राख्ने समयमा ब्याजको लोभमा आएर आफुखुशी रकम राख्ने अनि अहिले सहकारी भाग्यो वा डुब्यो भनेपछि चाहि यहाँ आएर रुने, कराउने गरेर के हुन्छ ? 

सहकारीले दुई वर्षअघिसम्म डिपोजिटलाई १३ देखि २२ प्रतिशतसम्म ब्याज दिन्थ्यो तर अहिले त ३६ प्रतिशत ब्याज दिन्छुभन्दा पनि सर्वसाधारणले सहकारीमा पैसा राख्दैनन् । सहकारीले सर्वसाधारणको पैसा यसरी डुबाउँदा वा लिएर भाग्दा पनि वडाध्यक्ष वा मेयरहरुलाई केही चासो छैन ।  

आफ्नो वडा, गाउँपालिका वा नगरभित्र सञ्चालनमा रहेका सहकारीहरुको न वडा वा गाउँपालिकाले नै अनुगमन गर्छ न नगरपालिकाले नै । वडा, गाउँपालिका, नगरपालिका आदि सबै सरकार नै हुन् तर यिनीहरुले नै जनताको दुःख वा पीडा बुझ्दैनन् । सर्वसाधारणदेखि व्यापारी, सरकारी कर्मचारी वा नेताहरु सहितको रकम आज सहकारीले डुबाइदिएको छ । 

यता कति सञ्चारकर्मीहरुले पनि सहकारीमा धेरथोर रकम जम्मा गरेका थिए तर त्यो पनि सहकारीले खाइदिएको छ । वडाध्यक्ष, मेयर वा गाउँपालिकाका अध्यक्षहरुले सहकारीहरुबाट पैसा खाएका छन ? जसले गर्दा उनीहरुले सहकारीको अनुगमन पनि गरेका छैनन् र जनताको पैसा फिर्ता नगर्ने सहकारीको दर्ता पनि खारेज गरेका छैनन् । 

सहकारीको ठगीधन्दा बारे यिनीहरु बोल्न चाहदैँनन् । साथै कति वडाध्यक्ष, मेयर वा अध्यक्षहरुले त सहकारीका सञ्चालकहरुबाट पैसा खाएको र हिजो चुनावको समयमा पनि तीनैबाट सहयोग लिएर चुनाव जितेकाले पनि उनीहरु सहकारीको विरोधमा बोल्दैँनन् । झन् कति सहकारीमा त यिनीहरुको नै लगानी समेत रहेको सुनिन्छ । 

बचतकर्ता भन्छन्, भक्तपुर, ललिपुर र काठ्माडौँबाट मात्रै दिनहुँ २५ वटा सहकारीहरु भागिरहेका छन् र दिनहुँ दशैँभरबाट त ५५ वटा सहकारीहरु भागिरहेका छन् । चुनावमा मतदान गर्नका लागि लाइनमा बसेझैँ सहकारीमा पैसा निकाल्न मानिसहरु लाइनमा बसिरहेका छन् तर पैसा पाइदैँन । 

यता सहकारीमा पुरानो खाता हुने ९५ प्रतिशत मानिसहरुले पनि आफ्नो खाता बन्द गरिसकेका छन् र नयाँ खाता खोल्ने कोही छैन । पछिल्लो समय सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरेपछि बचतकर्ताहरु मारमा परेका छन् । 

जनताकै मतबाट वडाध्यक्ष, मेयर र अध्यक्ष भएकाहरु पनि जनताकै रकम यसरी डुब्दा केही गर्दैनन् । अहिले सर्वसाधारणहरु भन्छन्, हाम्रो पैसा सहकारीले यसरी डुबाउँदा वा लिएर भाग्दा पनि वडाध्यक्ष, मेयर वा अध्यक्षले केही गरेनन् वा सहकारीलाई कानुनको दायरामा ल्याएनन् । 

सहकारीमा धेरै पटक धाउँदा पनि पैसा फिर्ता नपाएपछि सर्वसाधारणहरु पैसा फिर्ता पाइन्छ कि भन्दै वडा, नगर वा गाउँपालिका गइरहेका छन् । आफ्नो वडा , गाउँ वा नगरभित्र कति सहकारी सञ्चालनमा रहेका छन् भनेर न वडाध्यक्ष, अध्यक्षलाई नै थाहा छ न मेयरलाई नै । साथै यता कति सहकारीहरु भागिसकेका छन्, कति डुबिसकेका छन् र कति डुब्नेवालामा छ भनेर पनि कसैले तथ्यांक संकलन गरेको छैन । 

जनताले खाइनखाई दुःख गरेर कमाएको पैसा सहकारीले लिएर भाग्दा वा डुबाउँदा पनि वडाध्यक्ष, अध्यक्ष र मेयरहरु रमिता हेरेर बसिरहेका छन् । तर सर्वसाधारण जनताको बिजोग भइरहेको छ । सहकारीमा राखेको पैसा डुब्दा वा नपाउँदा मानिसहरुसँग बालबच्चाको फि तिर्ने पैसा छैन, उपचार गर्ने पैसा छैन र बिहान बेलुकाको छाक टार्न पैसा छैन । 

तर, सहकारीमा पैसा नराख्नुस् भनेर न वडा, गाउँ वा नगर नै सर्वसाधारणलाई सूचित गराउँछ न सहकारी विभाग नै । लाखौँ लाख सर्वसाधारणको रकम सहकारीले डुबाउँदा वा लिएर भाग्दा उनीहरु पिडित भएका छन् । लाखौँ लाख सर्वसाधारणको रकम सहकारीले यसरी डुबाउँदा कसले यिनीहरुको कुरा सुन्ने ? अब यिनीहरुले न त आफ्नो रकम नै फिर्ता पाउँछन् न न्याय । 

सरकार भन्छ, हामी जनताकै लागि बसेका हौँ तर यत्रो जनतालाई सहकारीले डुबाउँदा खै त सरकार । रकम फिर्ता पाइन्छ कि न्याय पाइन्छ भन्दै प्रहरी प्रशासनदेखि वडा, नगरसम्म नै धाँए तर के नै पाए ? खुट्टालाई दुःख र जिउलाई सास्ती । सहकारीले साग बेच्नेदेखि ठुल्ठुल्ला सरकारी कर्मचारी वा नेताको पनि रकम खाइदिएको छ । 

तर, सहकारीले यसरी जनतालाई रुवाउँदा वा पैसा खाएर सडक छाप बनाउँदा पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शाशी श्रेष्ठ सर्वसाधारणले सहकारीमा राखेको पैसा फिर्ता गराउन केही पहल गर्दिँनन् र अब सहकारीमा पैसा नराख्नुस् भनेर सूचित पनि गराउँदिन्न् । मन्त्री त जनताको अभिभावक हो तर जनताको पैसा यसरी डुब्दा र जनता र रगतको अाँसु रुँदा पनि मन्त्री किन चुपचाप बस्छिन् । 

कतै यसमा मन्त्रीको पनि त मिलोमत्तो छैन भन्दै जनता शंका गर्छन् । होइन भने जनताले खुट्टामा एक जोर नयाँ चप्पल नलगाई वा खाइनखाई गरेर सहकारीमा राखेको रकम सहकारीले नै डुबाउँदा वा लिएर भाग्दा मन्त्री किन निरीह ? मानिसहरु मेरो सहकारीमा लाखदेखि करोडसम्म रकम छ भन्छन् तर लिन गयो फिर्ता दिदैँन भन्छन् । 

पछिल्लो समय बचतकर्ताको भनाई अनुसार सहकारी चोर हो भनेर स्पष्ट बुझिन्छ । बुढापाकाले भन्थे, हातले पैसा दिँदा खुट्टालाई दुःख । यसको अर्थ के होला भनेर त पटकपटक सोचौँ तर अहिले आएर थाहा भयो । सहकारीले जनताको घरघरमा आएर पैसा त लियो तर फिर्ता गर्ने समयमा दाँतबाटै पसिना निकाल्यो । अहिले करोडौँ मानिसको घरमा रुवाबाँसी भइरहेको छ र अर्बौ रुपैँया डुबिरहेको छ । 

हिजो जाँदा सहकारीको कार्यालय खुल्ला हुन्छ तर आज जाँदा सहकारी नै भागिसकेको हुन्छ । अझैँ कति सहकारीका सञ्चालक वा अध्यक्षहरु त आफ्नै सहकारीका कर्मचारीलाई नै पत्तो नदिइ पैसा लिएर भागिसकेका हुन्छन् । अहिले सबैभन्दा बढी ठग्न र छिटो कमाउन सकिने भनेकै सहकारी हो । पहिला सहकारी दर्ता गराउने, ब्याजको प्रलोभनमा पारेर सर्वसाधारणलाई रकम राख्न लगाउने र धेरै रकम भएपछि लिएर भाग्ने । 

अहिले सहकारीले नठगेको जनता नै छैन । जोही कोही भन्छ, सहकारी भाग्यो, पैसा फिर्ता गरेन । सहकारीमा आफ्रनै पैसा निकाल्न गएमा पनि महिना दिनमा ५ हजार दिइन्छ तर त्यो पनि मरेर । साथै त्यो रकम साँवा हो कि ब्याज भनेर पनि थाहा छैन । अनि महिनाको ५ हजारले कहिलेसम्म आफ्नो रकम सहकारीबाट निकालेर सक्ने । 

अब त सहकारीबाट पैसा निकाल्दा निकाल्दै हाम्रो अर्को पुस्ता नै आइसक्छ भनेर मानिसहरु बताउँछन् । त्यस्तै यता कति सहकारीहरुले त झनै त्यत्ति रकम समेत दिएका छैनन् । ब्याज चाहिँदैन साँवा मात्र दिनुस् भनेर रुँदा, कराउँदा समेत सहकारी पैसा छैन भनेर फर्काइदिन्छ । कति लोग्ने स्वास्नीको त सहकारीकै कारण सम्बन्ध विच्छेद पनि भएको र घरायसी सम्बन्ध बिग्रेको पनि सुनिन्छ । 

तर सरकारलाई चासो छैन । सरकार यो विषयमा चासो नै दिदैँन । अहिले करोडौँ जनता सहकारीले पैसा फिर्ता नदिँदा वा डुबाउँदा बाटोमा रुएर हिडिरहेका छन् तर सरकार भने झन्डा भएको गाडीमा सवार गरिरहेको छ । राजनीतिक दलका नेताहरु भोट माग्नका लागि जनताको घरघरमा आइपुगे तर नेताले जनता नै भेट्न पाएनन् । जनताहरु नेता आउँछ कि भनेर घरमा कुरेर बस्नुभन्दा पनि आफ्नो पैसा डुब्छ वा सहकारीले लिएर भाग्छ भनेर सहकारीमा पैसा निकाल्न लाइनमा गएर बसे । 

सहकारीको कार्यालय खुल्नुअघि नै बचतकर्ताको लाइन लाग्छ तर सहकारीले रकम फिर्ता गर्दैन । सरकारले मतदानका लागि सार्वजनिक बिदा दियो र बिदाका दिन सहकारी बन्द हुन्छ र जनता पनि मतदान जान जान्छन् । यदि सरकारले सार्वजनिक बिदा नदिएको भए मतदान गर्नभन्दा पनि सहकारीमा पैसा निकाल्नेहरुको भिड बढी देखिन्थ्यो । पछिल्लो समय चिया पसलदेखि भट्टी पसलसम्मै सहकारीले पैसा खाइदियो वा डुवाइदियो भन्नेहरु यत्तिकै भेटिन्छन् । 

सहकारी डुब्नुको पनि कारण छ, यिनीहरुले घुस, सेवा शुल्क वा ब्याज खानका लागि घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर अहिले करोडको शेयर लाखमा आइपुग्यो, ४ हजार कित्ताको शेयर सयमा आइपुग्यो र करोडको गाडी लाखमा झर्यो । साथै अहिले बजारमा सहकारी मात्र नभई बैंक पनि डुबेको छ । सहकारीको भागाभाग र सर्वसाधारणको रुवाँबासी भइरहेको छ ।