शीर्षकहरू

असोजमा दर्ता भए दश नयाँ उद्योग, विदेशी लगानीका तीन वटा मात्रै

असोजमा दर्ता भए दश नयाँ उद्योग, विदेशी लगानीका तीन वटा मात्रै

काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा ३ अर्ब स्वदेशी लगानीका सात नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा ३ अर्ब ९२ करोड २६ लाख ७८ हजार रुपैयाँ स्वदेशी लगानीका सात वटा नयाँ उद्योग दर्ता भएका हुन् । 

विभाग अनुसार यस अवधिमा दर्ता भएका उद्योगहरूमा ओखलढुंगामा १० करोड रुपैयाँ लगानीमा हिमालयन एभरेष्ट वाटर रहेको छ । त्यस्तै, ललितपुरमा बागमती वाटर इनर्जी प्रालि दर्ता भएको छ । उक्त आयोजनाका लागि एक अर्ब ३५ करोड ७५ लाख ५५ हजार रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । 

त्यसैगरी, कास्कीमा २० करोड रुपैयाँमा प्लेजर नेपाल प्रालि, बारामा १५ करोड रुपैयाँ लगानीमा बिगविङ्गस् ट्रेडिङ कन्सर्न र ३५ करोड ३० लाख रुपैयाँ लगानीमा एटलस डि कार्गो प्रालि उद्योग दर्ता भएको छ ।

विभागका अनुसार सोही अवधिमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा माउन्टेन इनर्जी नेपाल लिमिटेड (मिस्ट्री खोला क्यास्केड जलविद्युत आयोजना) प्रालि दर्ता भएको छ । उक्त हाइड्रोपावरका लागि एक अर्ब ६१ करोड २१ लाख २३ हजार रुपैयाँ रहेको लगानी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा सुनसरीमा गौरीशंकर एग्रो इन्डष्ट्रि प्रालि दर्ता भएको छ । जसका लागि १५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । 

त्यस्तै, असोज महिनामा विदेशी लगानीका तीन उद्योग दर्ता भएका छन् । दर्ता भएका उक्त उद्योगका लागि २० करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगहरू उपत्यका केन्द्रित रहेका छन् । 

विभाग अनुसार यस अवधिमा भक्तपुरमा होटलका लागि चीनबाट ५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको हो । त्यस्तै, रेडिमेट गार्मेन्ट उद्योग निमार्णका लागि बङ्गलादेशबाट एक अर्ब रुपैयाँ र ललितपुरमा एडभरटाइजमेन्ट सर्भिस इन्डष्ट्रिजका लागि ५ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको हो ।