शीर्षकहरू

भ्रष्टाचारको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर, ४३ लख ७२ हजार विगो माग

भ्रष्टाचारको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर, ४३ लख ७२ हजार विगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आइतबार सार्वजनिक सम्पत्ती हानी नोक्सानी गर्ने चार जना र घुस लिने २ जना विरुद्ध मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार कैलालीको चुरे गाउँपालिका ३ को गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्य र सचिवसमेतको मिलेमतोमा पदाधिकारीहरुलाई कुनै जानकारी नदिई आ.व. २०७२/०७३ र २०७३/०७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई सरकारी रकम हिनामिना गरेको आयोगमा उजुरी परेको थियो ।

आचार्यले गुप्तपानी सामुदायिक वनबाट भएको आम्दानी रकम बद्नियतपूर्वक बिना विल भरपाई खर्च गरेको देखाई सक्कल विल भरपाई नभएको नक्कली फोटोकपी विल भरपाईहरु राखेको पाइएको छ । 

जसमा उनले सामुदायिक वनको रकम खाईमासी गर्ने उद्देश्यले रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । उनी विरुद्ध बिगो २५ लाख २४ हजार ३४६ रुपैयाँ माग गरी मुद्दा दायर गरिएको छ ।  

सोही मुद्दामा उक्त समुहका तत्कालीन सचिव हिक्मत सिंह भाट र कोषाध्यक्ष पृथ्वीराज बिष्ट पनि मुछिएका छन् । उनीहरुले सामुदायिक वनको रकम खर्च गर्न समितिको निर्णय एवं कार्ययोजना नै पास नभएको अवस्थामा समितिको चेकमा हस्ताक्षर गरी आचार्यलाई दिएर विना विल भरपाई रकम खाएको आयोगको भनाई छ । सचिव सिंह भाट र कोषाध्यक्ष बिष्टलाई बिगो रकम १८ लाख ३८ हजार ३७२ रुपैयाँ माग गरिएको छ । 

साथै, अडिटर गौरी प्रसाद नाथले बद्नियतपूर्वक भए गरेका कुरा लुकाईछिपाई नभएको कुरा उल्लेख गरी अडिट प्रतिवेदन पेश गरेको पाइएको छ । उनले उक्त समुहको रकम हिनामिना गर्नमा सहयोग गरी भ्रष्टाचार गरेकोले नाथ विरुद्ध पनि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । 

आइतबार नै आयोगले दुई जना विरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरक बहादुर शाही उपर घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको हो । 

मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीसँग बिलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस लिएको आयोगको आरोप छ । आयोगको  टोलीले  विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई सेवाग्राहीबाट तीन हजार रुपैयाँ  घुस सहित गत भदौ ५ गते पक्राउ गरेको थियो । 

विचौलिया नीरक बहादुर शाहीले सेवाग्राहीको बिलबुक नवीकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिने भनी ५३ हजार रुपैयाँ लिएर ४२ हजारु ६४० रुपैयाँको राजस्व रसिद काटी मेकानिकल इन्जिनियर दिपक बमलाई जाँचपास गराउन ३ हजार रुपैयाँ घुसबापत दिएको आयोगको भनाई छ ।  

बाँकी ७ हजार ३६० रुपैयाँ आफुले घुस लिएको आयोगले जनाएको छ । विचौलिया शाहीलाई बिगो १० हजार ३६० रुपैयाँ बिगो मागसहित कैद सजाय माग गर्दै आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।