शीर्षकहरू

चोरी पैठारी र न्यून विजकीकरणका कारण हामी समस्यामा पर्यौः जुत्ता उत्पादक संघ

चोरी पैठारी र न्यून विजकीकरणका कारण हामी समस्यामा पर्यौः जुत्ता उत्पादक संघ

काठमाडौं । जुत्ता उत्पादक संघ नेपालले जुत्ताको चोरी पैठारी र न्यून विजकीकरणका कारण नेपाली उद्योगीहरू समस्यामा परेका जनाएका छन् । बिहिबार समृद्धिको आधार, स्वदेशी उत्पादनमा आत्मनिर्भरता, फुटवेयर क्षेत्रका विद्यमान समस्या र समाधानका उपायबारे भएको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो जनाएका हुन् । 

संघका अनुसार जुत्ता चप्पल र छाला जन्य वस्तुका क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा यस क्षेत्रमा क्रियाशील उद्योगी व्यवसायीहरू अथक प्रयास र मेहनत गरी रहेका छन् । उद्योगी व्यवसायीहरूको यस क्षेत्रमा निकै ठुलो लगानी र परिश्रम प्रयोग भई सकेको छ । देशको मागलाई धान्न सक्ने गरी उत्पादन गर्न सक्ने क्षमताको विकास भई सकेको हालको अवस्थामा अनियन्त्रित रूपमा दक्षिण तिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्यून विजकीकरणका कारण उद्योगी व्यवसायीहरूलाई मार परेको छ । 

उद्योगी व्यवसायीहरूलाई व्यवसाय नै धारासायी हुने गरी हुने गरेको अनियन्त्रित चोरी पैठारीलाई नियन्त्रण गर्न सरकारले गरेको प्रयास अझै सशक्त र चुस्त बनाउन पर्ने देखिएको उनीहरूको भनाई छ । यसका साथै सरकारी नीति नियममा नियन्त्रण र व्यवस्थापनको लागि पर्याप्त व्यवस्था गरिए पनि व्यवहारिक रूपमा लागु गर्नु पर्ने अझ खाँचो रहेको छ । 

यस्तो गतिविधि नियन्त्रण गर्न अझ बढी सक्रियताको खाँचो रहेको छ । यसर्थ यस विषयमा गम्भीरताका साथ लिँदै यस्ता कार्यलाई निरुत्साहित गरी स्वदेशी उद्योगलाई बचाउन नेपाल सरकारको सम्बन्ध निकाय समक्ष संघको माग रहेको छ । करिब १५०० को सङ्ख्यामा संगठीत एवं असङ्गठित रूपमा उद्योगहरू रहेका छन् । जसमध्ये २२९ ठूला तथा मझौला उद्योगहरू रहेका छन् । 

जुत्ताको वार्षिक उत्पादन ५ करोड ६५ लाख जोर रहेको छ । जसमा करिब ५५ हजार श्रमिक कार्यरत रहेको छन् । यसमध्ये पनि एक तिहाइ महिला कामदार कार्यरत रहेको छन् ।