शीर्षकहरू

आयातको ३६.५२ प्रतिशत हिस्सा वीरगन्ज नाकाबाट

आयातको ३६.५२ प्रतिशत हिस्सा वीरगन्ज नाकाबाट

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बढीको आयात भएको थियो । 

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको भदौ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी वस्तु वीरगञ्ज भन्सार नाकाबाट आयात भएको छ । यस अवधिमा उक्त नाकाबाट ९९ अर्ब ९१ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यसरी हेर्दा कूल आयातको ३६.५२ प्रतिशत हिस्सा वीरगन्ज नाकाको रहेको छ ।  

त्यस्तै, दोस्रो नम्बरमा भैरहवा भन्सार नाका रहेको छ । यस अवधिमा उक्त नाकाबाट ४० अर्ब ५४ करोड ४३ लाख बराबरको वस्तु आयात भएको छ । चालू आवको भदौ महिनामा सबैभन्दा बढी वस्तु आयात हुने भन्सार कार्यालयको तेस्रो नम्बरमा वीरगन्जको सुख्खा बन्दरगाह रहेको छ । जसबाट ३५ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छन् ।  

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको भदौमा विराटनगर भन्सार कार्यालयबाट ३३ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यस्तै, यस अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २६ अर्ब ६९ करोड ६९ लाख, रौतहटको गौर नाकाबाट १५ करोड ३५ लाख, जलेश्वर भन्सारबाट १ अर्ब ४२ करोड १२ लाख र जनकपुर नाकाबाट ९ करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । 

त्यसैगरि, चालू आवको भदौमा कैलाली भन्सारबाट ३ अर्ब ७९ करोड ३५ लाख, कञ्चनपुर भन्सारबाट २४ करोड १० लाख, कृष्ण नगर भन्सारबाट ४ अर्ब २७ करोड ९९ लाख, महेशपुर नाकाबाट ५ करोड ८५ लाख, मेची भन्सारबाट ८ अर्ब ६४ करोड ११ लाख, नेपालगञ्ज भन्सारबाट ११ अर्ब २ करोड ६० लाख, राजविराजबाट ५४ लाख, रसुवागढी नाकाबाट ३ अर्ब ११ करोड ९ लाख र सर्लाही भन्सारबाट ३६ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

भन्सार विभागका अनुसार यस अवधिमा तातोपानी नाकाबाट १ अर्ब ४६ करोड ३८ लाख र सुथौली नाकाबाट ४४ करोड ८६ लाख, सती भन्सार नाकाबाट २ करोड ९८ लाख, सिरहा नाकाबाट एक करोड ६५ लाख, सुनसरी नाकाबाट एक अर्ब ३४ करोड ७१ लाख, थाडी भन्सार नाकाबाट एक करोड ५५ लाख, भद्रपुर भन्सार नाकाबाट २ करोड २६ लाख, चोभार भन्सार नाकाबाट ६ करोड ७८ लाख र गौतमबुद्ध एयरपोर्टबाट २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।