शीर्षकहरू

नेपालीलाई तास मोहः १५ दिनमै एक करोडको आयात

नेपालीलाई तास मोहः १५ दिनमै एक करोडको आयात

काठमाडौं । दशै तिहारको बेलामा नेपालीहरुले तास (प्लेइङ कार्ड) धेरैले खेल्ने गर्छन् । कतिपयले जुवाको रुपमा खेल्छन् भने कतिपयले रमाइलोको लागि खेल्छन् । नेपालीहरुले खेल्ने यो तास विदेशबाट आयात हुन्छ, त्यो पनि करोडौंको । 

तासप्रति नेपालीहरुको मोह धेरै नै देखिएको भन्सारको तथ्यांकबाट देखिन्छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको भदौ महिनाको १५ दिनको अवधिमा एक करोडभन्दा बढिको तास आयात भएको छ । यस अवधिमा एक करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २४४ प्याकेट तास आयात भएको हो ।

यो तथ्यांक हेरेर आयात प्रतिबन्ध थिएन भने तास खेल्न कै लागि नेपालीहरुले करोडौं पैसा खर्च गर्ने रहेछन् भन्न सकिन्छ । गत बैशाखदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै तास आयात पनि प्रतिबन्ध लगाएको थियो ।

तर, भदौ १४ गतेदेखि भने सरकारले तास आयात खुला गरिदियो । खुला गरेको १५ दिनमै तास आयातका लागि नेपालीको एक करोड पैसा बाहिरिएको देखिन्छ । नेपालमा चीन भारत जर्जिया अमेरिका लगायतका देशरुबाट तास आयात हुने गर्छ । यसमध्ये पनि सबैभन्दाबढि चीनबाट तास आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।