शीर्षकहरू

गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुई उद्योगमा सिलबन्दी

गुणस्तरहीन घ्यू उत्पादन गर्ने दुई उद्योगमा सिलबन्दी

वीरगन्ज । गुणस्तरहीन घ्यू उत्पादन गरी बिक्री वितरण गर्ने दुई उद्योग सिल गरिएको छ । चाडपर्वको बेला गुणस्तरहीन घ्यू उत्पादन गरी बिक्री वितरण गर्ने बाराका दुई उद्योग सिलबन्दी गरिएको हो । 

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले बारा पर्साका विभिन्न ठाउँमा गुणस्तरहीन घ्यू उत्पादन गरी आम उपभोक्ताहरूलाई बिक्री वितरण गरी ठगी गर्दै आइरहेको उजुरीको आधारमा बुधवार जिल्ला प्रशासन कार्यालय बाराको सन्युक्त टोलीले अनुगमन गरेको बताए । बारा जिल्लाको फेटा गाउँपालिका वडा न.२ जगतपुर टोलमा सञ्चालित दुई घ्यू उद्योग अनुगमन टोलीले सिलबन्दी गरेको उनको भनाई छ । 

जगतपुर स्थित एउटै कम्पाउन्डमा गुणस्तरहीन तरिकाले घ्यू उत्पादन गर्ने गहवामाई बेकरी सटिङ रिपेरिङ उद्योग र जय माँ डेरी उद्योग सिलबन्दी गरेको मञ्चका उपाध्यक्ष अजय अधिकारीले जानकारी दिए । अनुगमन गर्दा दुई उद्योग एउटै कम्पाउन्डमा रहेको गाई गोठमा उत्पादित विभिन्न ब्रान्डका तयारी घ्यू तथा कच्चापदार्थ गुणस्तरहीन पाइएको थियो । 

गहवा माई बेकरी सटिङ रिपेरिङ उद्योगले उद्योग सञ्चालनका लागि सरकारबाट  इजाजत नै नलिएको, दुवै उद्योगमा एकदमै फोहोर रहेको र नक्कली ब्रान्डको लेबल टाँसेर घ्यू बजारमा पठाउने गरिएको भेटिएको अधिकारीले बताए । अनुगमन पछि दुवै उद्योगमा रहेको तयारी घ्यू ११६१ लिटर, बेकरी १६ सय लिटर र कच्चापदार्थ १ सय ५० लिटर बरामद गरी दुवै उद्योगलाई सिलबन्दी गरिएको अधिकारीले बताए ।