शीर्षकहरू

भदौमा मात्र नेप्सेमा थपियो १३ करोड ८२ लाख भन्दाबढी धितोपत्र

भदौमा मात्र नेप्सेमा थपियो १३ करोड ८२ लाख भन्दाबढी धितोपत्र

काठमाडौं । धितोपत्र दोस्रो बजारमा भदौ महिनामा मात्र १३ करोड ८२ लाख १० हजार ८३४ दशमलव ८१ कित्ता धितोपत्र थप भएको छ । विभिन्न १० कम्पनीको उक्त धितोपत्र दोस्रो बजारमा भदौ महिनामा सूचीकृत भएको हो ।

यो महिना सूचीकृत हुने धितोपत्रमा सबैभन्दा बढी ऋणपत्र रहेको छ । १० कम्पनीहरूको धितोपत्रमा पाँच कम्पनीको ऋणपत्र रहेको छ भने दुई कम्पनीको बोनस शेयर, एक कम्पनीको संस्थापक हकप्रद शेयर, एक कम्पनीको साधारण शेयर र एक कम्पनीको इकाई रहेको छ ।

भदौ महिनामा कृषि विकास बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्राइम बैंक र नेपाल एसबिआई बैंकले जारी गरेको ऋणपत्र सूचीकृत भएको छ ।
यो महिना लुम्बिनी जनरल इन्स्योरेन्स र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर पनि सूचीकृत भएको छ ।

त्यस्तै राप्ती हाइड्रो एण्ड जनरल इन्स्ट्रक्सनको आईपीओ, ग्लोबल आइएमई क्यापिटलले जारी गरेको इकाई र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले विक्री गरेको संस्थापक तर्फको हकप्रद शेयर समेत सूचीकृत भएको छ । 

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले संस्थापकतर्फको वितरण हुन नसकेको ३ करोड कित्ता शेयरमध्य ९७ लाख ९५ हजार ५०५ कित्ता शेयर सूचीकृत गराईसकेको हो भने बाँकी शेयर समेत विक्री प्रकृयामै रहेको छ ।