शीर्षकहरू

‘डाक्टर, वकिलदेखि घरबेटीसम्मले आफूखुसी पैसा लिन्छन् त्यो भ्रष्टाचार हो की होइन ?’

‘डाक्टर, वकिलदेखि घरबेटीसम्मले आफूखुसी पैसा लिन्छन् त्यो भ्रष्टाचार हो की होइन ?’

काठमाडौं महानगरपालिका देशकै सबैभन्दा महानगरपालिका हो । यसमा ३२ वटा वडा कार्यालय छन् । यसलाई गहिरिएर हेर्ने हो भने कुनै पनि ठाउँमा राम्रो देखिदैन । काठमाडौं महानगरपालिकालाई अन्तर्राष्ट्रिय मापदण्डको सहर बनाउने हो भने अतिक्रमण भएका क्षेत्रमा नभत्काएर नयाँ संरचना निर्माण गर्नुको विकल्प नभएको महानगरपालिका वडा नं २९ वडा अध्यक्ष कुश ढकाल बताउँछन् । पहिलो कुरा त राज्यले यसरी अतिक्रमण गरेर बनाउन दिन नहुने उनको तर्क छ । सुरुवातमा बनाउन दिएका कारण अहिले समस्या उत्पन्न भएको र यसलाई तीन तहकै निकाय बसेर मिलाउन पर्ने धारणा उनको रहेको छ । अहिले काठमाडौं महानगरपालिकाले महानगरभित्र अतिक्रमण भइरहेका संरचना भत्काउन उनको फरक विचार रहेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभियानमा वडा नं २९ को साथ सहयोग के कस्तो रहेको छ भन्ने लगायत विषयमा आर्थिक न्युज डटकमले वडाध्यक्ष ढकालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:   

अहिले काठमाडौंमा विकासको लहर देखिएको छ । यसमा वडा नं. २९ ले कसरी काम गरिरहेको छ ? 

यसलाई विकासको लहर भन्न मिल्दैन । काठमाडौं महानगरपालिका देशकै नेपालको राजधानीमा पर्छ । यसलाई हेर्ने हो भने कुनै पनि ठाउँमा राम्रो छैन । सबै ध्वस्त छ । काठमाडौं महानगर ध्वस्त हुनुमा तीन वटा कारण रहेको छ । जुन खोला अतिक्रमण, मन्दिर अतिक्रमण र बाटो अतिक्रमण भएर हो । 

काठमाडौं महानगरपालिकालाई अन्तर्राष्ट्रिय मापदण्डको सहर बनाउने हो भने अतिक्रमण भएका क्षेत्रमा नभत्काई अरू उपाय छैन । पहिलो कुरा त राज्यले यसरी अतिक्रमण गरेर बनाउन दिन हुँदैन थियो । सुरुवातमा बनाउन दिएका कारण अहिले समस्या उत्पन्न भएको छ । यसका लागि तीनै तहका सरकार बसेर मापदण्ड बनाउन आवश्यक छ । 

जसले अतिक्रमण गरेर १५ वटा घर बनाएर भाडामा लगाएको छ भने उसलाई मुआब्जा दिनु परेन । तर, मुआब्जा दिनु पर्नेहरू छन् भने उनीहरूलाई राज्यले मुआब्जा दिनु पर्छ । गरिब मानिसलाई फसाएर जग्गा बिक्रीपछि घर बनाउन बाध्य पारिएको छ भने उसलाई राज्यले हेर्नु पर्छ । 

काठमाडौं संसारको यस्तो सहर हो जसको मास्टर प्लान नै छैन । प्लान पहिला भएको थियो भने पनि प्लान पनि बिगारेको सहर हो । संसारको मापदण्डको सहर बनाउनका लागि अतिक्रमण भएको ठाउँ भत्काउनु नै पर्ने हुन्छ । नेपालको विकास नहुनुमा काठमाडौं महानगरपालिकामा विकास नहुन नै बाधक हो जस्तो लाग्छ । काठमाडौं बन्यो भने अटोमेटिक नेपाल पनि बन्छ ।  

काठमाडौं महानगरले निरन्तररुपमा अतिक्रमण भएका ठाउँ भत्काउने अभियान चलाइरहेको छ । यस अभियान सञ्चालनका लागि को–कोसँग समन्वय गर्नु भएको छ ?

पञ्चायत कालदेखि नै काठमाडौं महानगरमा अतिक्रमण गर्ने गरेको देखिन्छ । बहुदलीय व्यवस्था आएपछि पनि यस्तो काम रोक्ने काम भएन । झन् गणतन्त्र आएपछि बढ्दै बढ्यो । काठमाडौंमा जसरी पनि घर बनाउने भन्दै लागि पर्दा अहिले यो अवस्था आएको हो ।

अहिले काठमाडौं महानगरले ठूलो मात्रामा अतिक्रमण भएका ठाउँलाई भत्काएको छैन । अहिले तत्काल, अव्यवस्थित पसल, बाटो लगायत नगरी नहुने कामहरू भइरहेको छ । मास्टर प्लान नै बनाएर शुरु गरिएको छ जस्तो लाग्दैन । मेयर बालेन साहले सबैसँग भेटघाट र सरसल्लाह गरेर नै काम शुरु गर्नु भएको होला । 

कतिपय संरचनाहरू नगरपालिका बाटै नक्सा पास भएका पनि व्यक्तिगत, सार्वजनिक र गुठीको जग्गामा होलान् । यसो हुँदा सुरुवातमा नगरपालिकाले नै बिगारेको भन्ने आरोप छ नि ? 

यसमा नगरपालिकाको मात्रै दोष छैन । यो बिगार्नका लागि सबै निकाय अदालत, वकिल, डाक्टर, कर्मचारी लगायत सबै पदका मानिसहरू मिलेर बिगारेका हुन् । एउटा निकायले मात्रै बिगार्न सक्दैन । यसमा सबैको हात छ । यसलाई सुधार्नका लागि भत्काउने अभियान शुरु भएको हो । 

अतिक्रमणको हिस्सा वडा नं २९ मा कति होला ?

अतिक्रमण नभएको ठाउँ कहीँ पनि छैन । यसमा वडा नं. २९ पनि अछुतो छैन । यहाँ पनि कति ठाउँमा अतिक्रमण भएको छ । अतिक्रमण भएका ठाउँमा भत्काउनका लागि पोलिसि बनाएर अगाडी बढ्नु पर्छ । 

यस वडामा कसले कति अतिक्रमण गरेको छ भन्ने सबै कुरा मलाई थाहा छ । तर, यसमा म एक्लैले काम गर्न सक्दिन । मलाई राज्यदेखि भूमिसुधार समेतको सहयोग चाहिन्छ । म एक्लैले गर्न सक्ने नभएकोले अतिक्रमण भएको ठाउँमा टुलुटुलु हेरेर बसेको छु । 

वडा नं. २९ को कार्यालयको पनि नक्सा पास भएको छैन भन्ने सुनिन्छ नि ?

पहिलो हामीले अनामनगरको साबिक १४३ कित्ता नम्बर ८ मा बनाउन खोजेका थियौँ । त्यहाँ एमालेहरूले बनाउन दिएनन् । पहिलाका मेयर विद्यासुन्दर शाक्यले पनि बनाउन नदिएका हुन् । अब हामी जसरी पनि त्यही अनामनगरमा नै बनाउँछौँ । जहाँ सुविधा सम्पन्न वडाको भवन निर्माण गर्ने योजना रहेको छ । 

काठमाडौंमा कतिपय आयोजनाहरू आएका छन् । तर, ती आयोजनाहरू पुरा हुन सकिरहेका छैनन् । सबैजसो आयोजनाको छु छोएर मात्रै छोडिएको पाइन्छ । यसको कारण के होला ?

नेपालमा संविधानले दिएको अधिकार अझै पनि कार्यान्वयन हुनु बाँकी रहेको छ । संघ प्रदेश र स्थानीय निकायमध्ये अन्तिममा काम गर्ने भनेको स्थानीय निकायले नै हो । वान वे सिस्टमबाट काम गर्नु पर्‍यो । संघले पोलिसि बनाउनु पर्‍यो । प्रदेशले व्यवस्थापन गर्नु पर्‍यो । र, स्थानीय निकाय एक्सनमा जानु पर्‍यो । त्यसमा लागि पोलिसि आवश्यक रहेको छ । अहिलेको सबै सिस्टम परिवर्तन गरेर नयाँ त्यो पनि आमूल सुधार गर्नु पर्छ ।

यसका साथै कर्मचारीतन्त्रमा पनि सुधार गर्नु पर्छ । कर्मचारीलाई काम गरेबापत पैसा दिने सिस्टम बनाउनु पर्‍यो । शिक्षकको पढाएको घण्टाको अवधिको पैसा दिनु पर्‍यो । डाक्टर, वकिलको पनि फी तोकिदिनु पर्‍यो । दलाललाई पनि फी तोकेर लाइसेन्स दिनु पर्‍यो । र मात्रै ठिक हुन्छ । नेतालाई मात्रै दोष लगाएर हुँदैन । सबै क्षेत्र खराब रहेको छ । 

डाक्टर वकिलदेखि घरबेटीसम्मले आफूखुसी पैसा लिन्छन् त्यो भ्रष्टाचार हो की होइन ? व्यापारीले मिसावटदेखि बढी मूल्य लिने गरेका छन् त्यो पनि भ्रष्टाचार हो । यहाँ हरेक कुरामा भ्रष्टाचार छ । बिचौलियाले देश बिगारिरहेका छन् । बिचौलियालाई पनि सरकारले लाइसेन्स दिएर करको दायरामा ल्याउनु पर्छ । 

काठमाडौं शिक्षा, स्वरोजगार, व्यापारको हिसाबले रोजाइमा पर्छ । यसमध्ये शिक्षाको लागि स्थानीय निकायले के के गर्‍यो भने सुधार आउँदा ?

अहिले काठमाडौंमा मापदण्डमा बनाइएका स्कुलहरू नचल्ने अवस्था छन् । प्राइभेट स्कुलहरू मापदण्ड बिना बढी फी लिएर चलेका छन् । कतिपयले कर नै तिरेका हुदैनन् । सरकारले सबैलाई करको दायरामा ल्याएर शिक्षा र स्वास्थ्यमा निःशुल्क सेवा दिनु पर्छ  । सरकारले शिक्षामा पनि आमूल परिवर्तन गर्नु पर्छ । हाम्रो यहाँको सबै शिक्षा विदेशमा गएर गुलामी गर्ने खालको रहेको छ । यसले नेपालको माटोलाई फाइदा गर्दैन । 

छोराछोरी पढाउन र भोलि बिरामी परे भने के गर्ने भनेर नराम्रो काम गरिरहेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्र निःशुल्क गरिदिने हो भने भ्रष्टाचार, मिसावट जस्ता काम गर्नेहरू कम हुन्छन् । र, छोराछोरीलाई सम्पत्ति दिने प्रचलन पनि हटाउनु पर्छ । यसले पनि भ्रष्टाचार जन्य क्रियाकलाप गर्न बढवा दिएको छ । 

त्यस्तै, सरकारले कृषि क्रान्ति गर्ने भनेर भन्छ । तर, यसका लागि राम्रो नीति नै ल्याउन सकेको छैन । कृषकलाई भोलि समस्या पर्दा सरकारले हेर्न सक्ने स्थिति भएर भने कृषि क्रान्ति मात्रै भनेर परिवर्तन हुँदैन । 

पाँच वर्षको कार्यकालमा कुश ढकालले वडा नं. २९ मा यो काम चाहिँ गरे है भन्ने खालको काम के गर्दै हुनुहुन्छ ? 

यसअघिको पाँच वर्षे कार्यकाल यहाँ कर्मचारी जसरी नै बिताउनु पर्‍यो । अहिले दोस्रो कार्यकालमा केही काम गर्न सहज भएजस्तो भएको छ । तर, के गर्नु सबै पुरानै ढर्रामा छ । वान डोर सिस्टम नभएसम्म धेरै सुधार हुन सक्दैन । 

पाँच वर्षको अवधिमा वडा नं. २९ मा हाम्रा लागि काम गर्ने वडा अध्यक्ष हुनुहुन्छ भनेर जनताललाई ढुक्क दिलाउन सकेको छु । स्थानीय निकाय भएको आवास जनतालाई दिलाउन सकेको छौँ । यो नै ठूलो सफलता मान्नु पर्छ ।