शीर्षकहरू

चुक्ताहुन बाँकी रकम असोज ४ गतेदेखि उठाउदै त्रिशूली जलविद्युत कम्पनी

चुक्ताहुन बाँकी रकम असोज ४ गतेदेखि उठाउदै त्रिशूली जलविद्युत कम्पनी

काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले साविक सर्वसाधारण शेयरधनीहरूबाट चुक्ता हुन बाँकी रकम उठाउने भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको शेयर बापतको बाँकी रकम आगामी असोज ४ गतेदेखि उठाउने भएको हो ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रतिशेयरर १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रू. १० बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी रू. ९० बुझाउनु पर्नेछ । 

साबिकका सर्वसाधारण शेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी रू. ९० का दरले रू.३३ करोड ३४ लाख ५० हजार रकम संकलन हुने कम्पनीले जानकारी दिएको छ । रकम बझाउने अन्तिम मिति आगमी कात्तिक १७ गतेसम्म रहेको छ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधान बमोजिम शेयरधनीले प्रतिकित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गर्नुपर्नेछ ।  

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरूले रकम बुझाउन÷आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

जनताको जलविद्युत् कार्यक्रमको कार्यविधि, २०७५ अनुसार शेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयर बापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिक शेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि अनुरोध गरेको कम्पनीले जानकारी दिएको छ ।

आयोजनाका प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत शेयर रहेको छ । कम्पनीले रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।