शीर्षकहरू

श्रम स्वीकृति गरी वैदेशिक रोजगारीमा गएकाले मात्र  आईपीओमा आरक्षण पाउने

श्रम स्वीकृति गरी वैदेशिक रोजगारीमा गएकाले मात्र  आईपीओमा आरक्षण पाउने

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित शेयरको दश प्रतिशत शेयर श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीले मात्र पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली,२०७९ को छैठौ संशोधन सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । 

सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि बोर्डले नियमावली संशोधन गरेको हो । 

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले निष्कासित शेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र दरी दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खतामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याएको शेयर विक्री नभई बाँकी रहन गएमा उक्त शेयर सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्था समेत संशोधित नियमावलीमा गरिएको छ । यो व्यवस्था अंकित मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने संगठित संस्थाको हमा लागू नहुने बोर्डको भनाई छ ।

सर्वसाधारणतर्फको वाहेक अन्य समूहको शेयर बाँडफाँट भएको मितिले तीन वर्षको अवधि पुरा नभई विक्री गर्न नपाईने व्यवस्था समेत नियमावलीमा गरिएको छ । तर प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्मा रहेको शेयर भने बाँडफाँट भएको मितिले एक वर्षको अवधि पुरा भएपश्चात विक्री गर्न सकिने व्यवस्था समेत बोर्डले गरेको छ ।