aarthiknews.com शनिबार, १५ असोज २०७९   Saturday, 01 October, 2022
 
Everest Bank
British College
Blue Diamond

एकै वडाबाट वार्षिक चार करोडको दूध बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ भदौ २०७९
Sanima Bank
एकै वडाबाट वार्षिक चार करोडको दूध बिक्री
LBF

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ ।  बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् ।  

“सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्”, उन भने, “यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।” बास्कुना कृषि सहकारी संस्थाले बास्कुना र थामडाँडाबाट दैनिक दुई ६० लिटर, सिङ्गाको शुभकामना दुग्ध सहकारीले दैनिक दुई सय ६० लिटर र सिमलचौर विउविजन तथा कृषि सहकारी संस्थाले मङ्गलाका कृषकसहित चार सय ५० लिटर दूध बेनीमा ल्याउने गरेका छन् । 

सिङ्गाका कृषक कोपीपाल पौडेलले व्यक्तिगतरुपमा दैनिक ४० लिटर दूध बिक्री गर्नुहुन्छ । वडाभर करिब सय बढी कृषकले गाईभैँसी पालन गरेर दूध उत्पादन गरेका छन् । बास्कुना कृषि सहकारीले बेनीमा आफ्नै बिक्री कक्ष सञ्चालन गरेको अध्यक्ष तिलक गुरुङले बताए । “बास्कुनालाई फलफूल र दूधमा नमुना (एफएम फ्रुट–मिलक) भिलेज बनाउने अभियानमा छौँ”, उनले भने, “गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन आएको छ ।”

उपभोक्ताको घरमै पुर्याउदा प्रतिलिटर रु एक सय २० र डेरीलाई प्रतिलिटर रु एक सय १० का दरले दूध बिक्री हुने गरेको कृषक कोपीपाल पौडेलले बताए । “वार्षिक करिब रु १७ लाख आम्दानी हुन्छ । खर्च कटाएर रु छ÷सात लाख बच्छ”, उनले भने, “पशुपालनबाट छोराछोरीको पढाइसँगै घरव्यवहार चलाउन सहज भएको छ ।” 

कृषकले घरबाट सङ्कलन केन्द्रमा ल्याउने दूध गाडीमा राखेर बेनी पठाउने गर्छन् । सडक यातायातको सुविधासँगै सिङ्गाका कृषकले दूध उत्पादनका लागि व्यावसायिक गाईभैंसी पाल्न थालेका थिए । विदेशबाट फर्किएका र युवाले पनि गाईभैँसीपालन गरेका छन् । 

भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सिङ्गा, अर्थुङ्गे र बरङ्जा क्षेत्रका कृषकले दूध उत्पादन गर्न थालेपछि आयात घटेको बताए । नयाँ फार्म स्थापना, स्तरोन्नति, गोठ सूधार, सङ्कलन केन्द्र स्थापना, दूध ढुवानी गर्ने क्यान आदीमा केन्द्रले सघाएको छ । 

गत आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध सय कृषकले प्रतिलिटर रु २.५० का दरले रु १५ लाख ९० हजार अनुदान पाएका थिए ।

प्रतिक्रिया दिनुहोस