शीर्षकहरू

बालेन साहले काठमाडौंको पूर्वाधार विकासका लागि यस्तो निर्देशन दिए

बालेन साहले काठमाडौंको पूर्वाधार विकासका लागि यस्तो निर्देशन दिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि स्वीकृत गरेका कार्यक्रम तथा बजेट अन्य साझेदार कार्यालयका कार्यक्रमसँग नदोहोरिएको बताइएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले, योजनाबद्ध सहरी विकासमा जोड दिँदै, स्रोत, सीप र समयको दोहोरो खर्च हुने खालका योजनालाई एउटै बनाउनु पर्नेमा जोड दिएका हुन । आज राष्ट्रिय सभा गृहमा उहाँकै अध्यक्षतामा बसेको पूर्वाधार निर्माण कार्यको समन्वय गर्न गठित समितिको बैठकमा प्रमुख साहले यस्तो बताएका हुन । 

भित्री सहरी क्षेत्रमा पर्व लक्षित सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधि सुरु भइसकेकोले त्यस क्षेत्रमा गर्नु पर्ने पूर्वाधार सुधारका कामलाई प्राथमिकतामा राख्न प्रमुख साहको आग्रह गरेका थिए । 

काठमाडौँको एकीकृत विकासका लागि हरेक महिनाको पहिलो सोमबार महानगरका प्रमुख साहको अध्यक्षतामा बैठक बस्ने गरेको छ । यस क्रममा आज बसेको बैठकमा प्रस्तुत एजेन्डामध्ये अहिलेसम्म गरिएका कामको समीक्षामा उनले आफ्नो क्षेत्राधिकारभित्र भएका योजना, तिनको कार्यान्वयनका सन्दर्भमा कुरा गर्दै साझेदारले गरेका कामको जानकारी लिए । 

बैठकमा सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर डा. विजय जैसीले दशँैसम्ममा सडकको कालोपत्रे थप गर्ने (ओभर ले) गरिसक्ने  योजना सुनाए । डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेले, सतहको पानीले सडकमा पुग्ने क्षति घटाउन काम भइरहेको जानकारी दिए । रणनीतिक सडकको मर्मत सम्भार, पुराना सडक संकेत पुनस्र्थापनामा अहिले काम भइरहेको उनको भनाइ थियो ।

प्रहरी नायव महानिरीक्षक एवं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीले बेसमेन्ट पार्किङ्का लागि अभियान थालिएको बताउँदै सडकमा भएका सवारी जमिन तलाको पार्किङ्मा लगेपछि सडक व्यवस्थापनमा सहज हुने अपेक्षा गरे । यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले, यातायात सम्बन्धी कानुन निर्माणमा काम गर्नुपर्ने खाँचो देखाए । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईञ्जिनियर मिलनकुमार शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक रविन्द्र पोखरेल, आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठसहित अधिकारीले प्रणाली विस्तारका लागि खनिएका सडकका खाल्टा पुर्ने तथा कालोपत्रे गर्ने काम थालिएको उल्लेख गरे । त्यसैगरी काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले, खानेपानीको दिगो उपयोग र नदी प्रणालीको संरक्षणका लागि अहिलेबाट नै काम थाल्नु पर्ने धारणा राखे । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले, गएको बर्ष विष्णुमती नदी किनारामा विभिन्न ५ ठाउँमा अन्डरपास खोलिएको जानकारी दिए । काठमाडौँका बागमती नदी प्रणालीसँग काठमाडौँ महानगरका १६ वटा भक्तपुरका २ वटा र ललितपुरका २ वटा वडा जोडिन्छन् । यस ठाउँका अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्न सकिएन भने सुधार सार्थक हुँदैन । अर्यालको भनाइ थियो । 

उनहरुले महानगरको एकीकृत र दिगो विकासका लागि काठमाडौँ महानगरपालिकाले गुरुयोजना बनाएर नेतृत्व गर्नुपर्ने सुझाव दिए । यसअन्तर्गत योजना कार्यान्वयनका चरण तोकेर कामको जिम्मेवारी दिनुपर्ने सुझाव दिए । 

छलफलमा दिगो सहरी यातायात, फोहोरमैला व्यवस्थापन, अनधिकृत पार्किङ्, पुराना र स्वामित्व नजनिने सवारी साधनको व्यवस्थापन, ई रिक्साको व्यवस्थापन, तरल फोहोर व्यवस्थापन, ढल निकास, सेफ्टी ट््याङ्क निर्माणलगायतका विषय उठान भएका थिए । 

बैठकमा नेपाल विद्युत प्राधिकरण वीरेन्द्रकुमार सिंहले, काठमाडौँ आउँदो १ महिनाभित्र लैनचौरदेखि महाराजगञ्जसम्म, धोवीखोला करिडोरलगायत क्षेत्रमा भूमिगत गरिएको विद्युत प्रणाली चार्ज गरिसक्ने जानकारी दिए ।