शीर्षकहरू

अपर तामकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुल्यो

अपर तामकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुल्यो

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुला भएको छ । कम्पनीको भदौ ३ गते शुक्रवार सम्पन्न १४औं वार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेसँगै कम्पनीलाई प्रकृया अघि बढाउने बाटो खुला भएको हो । 

शुक्रवार काठमाडौंमा सम्पन्न सभाले अघिल्लो आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । 

जलविद्युत कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत नियमकन आयोगले गरेपनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत आयोजनाहरु रोल्वालिङ खोला जलविद्युत र तामाकोशी–५ जलविद्युत आयोजना निर्माणमा लगानी हुने जानकारी कम्पनीले दिएको छ ।

यस कम्पनी हाल नोक्सानीमै रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नोक्सानीमा उल्लेख्य बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी रू. ५ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो ।

गत वर्ष कम्पनीले रू. ७ अर्ब १७ करोडभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेपनि वित्तीय खर्च उल्लेख्य बृद्धि हुँदा नोक्सानी बढेको हो । अघिल्लो वर्ष रू. १ लाख २९ हजार वित्तीय खर्च भएकोमा गत वर्ष रू. ५ अर्ब ६२ करोडभन्दा बढी यो खर्च भएको हो । 

कम्पनीले लिएको दिर्घकालिन कर्जा र अल्पकालिन कर्जानै अघिल्लो वर्षको तुलनामा गत वर्ष बढी भएको छ । अघिल्लो वर्ष रू. ४० अर्ब ५८ करोडभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष रू. ७३ अर्ब ७८ करोडभन्दा बढी पुगेको छ । त्यस्तै अघिल्लो वर्ष रू. ३ अर्ब ८० करोड रहेको अल्पकालिन कर्जा गत वर्ष रू. ५ अर्ब ६३ करोडभन्दा बढी रहेको छ । राष्ट्रिय गौरबको आयोजनाबाट विद्युत उत्पादन गर्न सुरु गरेकै वर्षदेखि लाभांश खुवाउने आशा गरेका लगानीकर्ताहरूलाई कम्पनीको वित्तीय अवस्था देख्दा केहि वर्ष अझै प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।