शीर्षकहरू

पश्चिम सेती र सेती नदी-६ जलविद्युतको सर्वेक्षण अनुमतिपत्र भारतीय कम्पनीलाई

पश्चिम सेती  र सेती नदी-६ जलविद्युतको सर्वेक्षण अनुमतिपत्र भारतीय कम्पनीलाई

काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना र सेती नदी-६ आयोजना  भारतको एनएचपीसी लिमिटेडलाई सर्वेक्षण अनुमतिपत्र दिने सम्बन्धी पत्रमा सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा लगानी बोर्डले उक्त आयोजना भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो । 

७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ को  परियोजनाको विस्तृत अध्ययन(डिपिआर) को सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन्।

एनएचपीसी भारत सरकारको स्वामित्वको कम्पनी हो। जसले सोलार, हाईड्रो, वायु उर्जा गरि सात हजार मेगावाट बढी उत्पादन गरिसकेको छ। करिब पाँच हजार मेगावाटका आयोजना विभिन्न चरणमा निर्माण गरिरहेको छ।

पश्चिम सेती सुदुरपश्चिममा निर्माण प्रस्ताव गरिएको जलाशययुक्त आयोजना हो। सुरुमा १ खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको आयोजनाको लागत २ खर्ब रुपैयाँ रहेको छ ।