शीर्षकहरू

जलविद्युत क्षेत्रकै पहिलो मर्जर : रिडी र रैराङले शुरु गरे एकिकृत कारोबार

जलविद्युत क्षेत्रकै पहिलो मर्जर : रिडी र रैराङले शुरु गरे एकिकृत कारोबार

काठमाडौं । सूचीकृत कम्पनीहरूमध्ये जलविद्युत क्षेत्रकै पहिलो मर्जर प्रकृया रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पुरा गरेका छन् । यी दुई कम्पनीहरूले मर्जर प्रकृया पुरा गरी साउन २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीहरूबीच एकिकृत कारोबार सुरु भएको जानकारी गराईएको हो । 

यी दुई कम्पनीबीच गत कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरका कारण दुबै कम्पनीको शेयर कारोबार कात्तिक २२ गतेदेखि रोक्का रहेको छ । मर्जर सम्झौता गरेको ९ महिनाभित्र कम्पनीहरूले एकिकृत कारोबार सुरु गरेका हुन । रैराङ हाइड्रोपावर लिमिटेडलाई रिडी हाइड्रोपावर कम्पनी लिमिटेडले गाभेको हो । यी दुई कम्पनी १ बराबर शून्य दशमलव ९३ को अनुपातमा शेयर आदानप्रदान गरी एक भएका हुन । 

यस आधारमा रैराङ हाइड्रोपावरको १०० कित्ता शेयर बराबर रिडी हाइड्रोपावरको ९३ कित्ता शेयर प्राप्त हुनेछ । रू. ५८ करोड ५५ लाख ५८ हजार चुक्तापूँजी रहेकोे रिडी हाइड्रोपावरले रू. ५६ करोड चुक्तापूँजी रहेका रैराङ हाइड्रोपावरलाई गाभेको हो । दुइ कम्पनी मर्ज पश्चात् बनेको कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ५० करोड र चुक्ता पूँजी रू. १ अर्ब १० करोड पुगेको कम्पनीको भनाई छ । मर्जर पश्चात् बनेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कुबेर मणी नेपाल र अध्यक्षमा गुरुप्रसाद न्यौपाने रहने जानकारी समेत कम्पनीले जानकारी दिएको छ । 

अध्यक्ष गुरु प्रसाद न्यौपानेले जलविद्युत क्षेत्रकै पहिलो मर्जर भएकाले अन्य कम्पनीहरूलाई पनि प्रोत्साहन मिल्ने गरी मर्जर प्रकृया सम्पन्न गरेको बताए । दुई राम्रा कम्पनी एक भई बन्ने नयाँ कम्पनी अझ राम्रो बन्ने विश्वास उनको छ । लगानीकर्ताहरूको सम्पत्ति लामो समय बन्धन नबन्ने गरी एकिकृत कारोबारपश्चात शेयर कारोबार फुकुवा गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । 

मर्जर पश्चात बनेको कम्पनीको मातहतमा रिडीखोला, रैराङखोला र इवाखोला गरी तीन जलविद्युत आयोजनाहरू र एक बुटवल सौर्य विद्युत आयोजना रहने अध्यक्ष न्यौपानेले उल्लेख गरे । यी आयोजनाहरूको व्यवस्थापनसँगै मर्जरपश्चात कायम पूँजीले नयाँ ठुला आयोजनाको निर्माणमा पनि कम्पनीले ध्यान दिने उनको भनाई छ । 

दुई कम्पनी एक भएपश्चात व्यवस्थापकिय खर्च कम हुने र नाफा बढ्ने भन्दै उनले लगानीकर्ताको प्रतिफलमा पनि बृद्धि हुने बताए । आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट भने दुबै कम्पनीले एउटै अनुपातमा १२ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेका थियो । यस वर्ष बोनस शेयरमा जोड दिने जानकारी समेत अध्यक्ष न्यौपानेले दिए ।