शीर्षकहरू

१४ वर्षमा रेमिट्यान्स आप्रवाह ८४ खर्ब ६६ अर्ब रुपैयाँ आयो

१४ वर्षमा रेमिट्यान्स आप्रवाह ८४ खर्ब ६६ अर्ब रुपैयाँ आयो

काठमाडौं । पछिल्लो १४ वर्षमा ( आव २०६५/६६ देखि २०७८/७९ सम्म) ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको विप्रेषण आप्रवाहले बढ्दै गएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । विप्रेषणको तथ्यांकलाई हेर्दा आजभन्दा १२/१३ वर्ष अघि विप्रेषण डेढ देखि साढे दुई अर्बमा सीमित थियो तर पछिल्लो समय तुलनात्मक रुपमा वृद्धिलाई हेर्दा शतप्रतिशत भन्दा बढी रहेको पाइन्छ । 

बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार रेमिट्यान्स बढे पनि विगतमा मुलुकको अर्थतन्त्र र हालको अर्थतन्त्रलाई हेर्न हो भने रेमिटेन्स आप्रवाह समानान्तर छ भन्न सकिन्छ । आजको मुद्रास्फिति, मुद्रा सञ्चिति, मुद्राको मूल्यांकन लगायतका विषयलाई विश्वबजार र नेपालको बजारमा हेर्ने हो भने सम्पूर्ण बढेको पाइन्छ त्यसैले गर्दा रेमिटेन्सको आकारमा वृद्धि भए पनि आजको अर्थतन्त्रलाई हेर्ने हो भने त्यसमा धेरै वद्धि भएको मान्न नसकिने उनको भनाई छ । 

पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै करिब ५० खर्ब रुपैयाँ विप्रेषण भित्रेको छ । पछिल्लो वर्षहरुमा विप्रेषण आप्रवाह वर्षेपिच्छे बढदै गएको छ । गत आवमा नौ खर्ब ८६ अर्ब रुपैयाँ, आव २०७७/७८ मा नौ खर्ब ६१ अर्ब, आव २०७६/७७ मा आठ खर्ब ७५ अर्ब रुपैयाँ,  आव २०७५/७६ मा आठ खर्ब ७९ अर्ब र आव २०७४/७५ मा सात खर्ब ५५ अर्ब रुपैयाँ विप्रेषण मुलुकमा भित्रिएको थियो । यस्तै, कोभिड १९ का कारण वैदेशिक रोजगार अन्यौलमा पर्दा विप्रेषणको अवस्था कस्तो होला भन्ने चिन्ता सबैमा रहेको थियो । तर, कोभिडमा पनि विप्रेषण आप्रवाह निरन्तर भयो भने सुरुवाती समयमा बढेको थियो । अवैधानिक रुपमा हुन्डी च्यानल बन्द हुन पूग्दा कोभिडका कारण बन्दाबन्दी हुदाँ रेमिटेन्स आप्रवाह बढेको थियो । 

यसैबीच १४ वर्षको अवधिमा ५० लाख आठ सय ३३ जना (पुनः श्रम स्वीकृति बाहेक) वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । जसमा ४७  लाख १४ हजार पाँच सय ९१ जना पुरुष र दुई लाख ८६ हजार दुई सय ४२ जना महिला रहेका छन् । उनीहरुले रेमिटेन्स प्रवाहमा महत्वपूर्ण भूमिका खेलेका छन् । श्रम स्वीकृति लिदैमा सम्पूर्ण युवाहरु विदेश गएको मान्न सकिदैन तर श्रम स्वीकृति लिएका मध्ये करिब ८० प्रतिशत भन्दा बढी युवाहरु विदेश जाने गरेको बोर्डले जनाएको छ । 

अर्थतन्त्रको एउटा खम्बाको रुपमा देखिएको रेमिटेन्स आप्रवाहलाई व्यवस्थित बनाउनु अहिलेको आवश्यकता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारयण अर्यालले बताए । सचिव अर्यालले रेमिटेन्स आप्रवाह गर्ने युवाहरुको पुँजी, सीप र प्रविधिको स्वदेशमा नै उपयोग गर्नुपर्ने बताए ।

उनले विदेशबाट फर्केका युवाहरुको पुँजी, सीप र प्रविधिको प्रयोगका लागि समेत वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन गर्न लागेकोे बताए । यस्तै, श्रममन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने क्रममा विदेश जाने युवाहरु दक्ष बनाउनु आवश्यक छ, यसका लािग उनीहरुलाई आवश्यक तालिम दिई विदेश पठाएमा रेमिटेन्स समेत वृद्धि हुने उनको भनाई छ । वैदेशिक रोजगारलई सीपयुक्त बनाए यस क्षेत्र जोखिम रहति हुनुको साथै रेमिटेन्स आप्रवाहमा समेत वृद्धि हुनेछ ।