शीर्षकहरू

सात महिनामा दुई लाख ८२ हजार पर्यटक भित्रिए, कुन महिना कति आए ?

सात महिनामा दुई लाख ८२ हजार पर्यटक भित्रिए, कुन महिना कति आए ?

काठमाडौं । सन् २०२२ को सात महिनाको अवधिमा दुई लाख ८२ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा विभिन्न देशका २ लाख ८२ हजार ६४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । 

यस सात महिनाको अवधिमा अप्रिलमा सबैभन्दा बढी पर्यटन नेपाल भित्रिएको देखिन्छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ को अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका हुन् । जनवरीदेखि अप्रिलसम्मको अवधिमा विदेशी पर्यटन भित्रिनेको संख्या बढ्दै गएको थियो । तर, अप्रिल पछि भने विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको देखिन्छ ।  

विभागका अनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै, दोस्रो महिना अर्थात फेब्रुअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरी महिनाको तुलनामा फेब्रुअरी महिनामा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल  आएको देखिन्छ ।

त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या फेब्रुअरी महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । यस महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरि, अप्रिल महिनापछि भने नेपालमा विदेशी पर्यटक आवागमनको संख्या विस्तारै कम भएको विभागले जनाएको छ । गत अप्रिल महिनाको तुलनामा मे, जुन र जुलाई महिनामा विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको हो ।  

विभागको तथ्यांक अनुसार सन् २०२२ को मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या घटेको देखिन्छ । मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल भित्रिएका थिए । अप्रिल महिनाको तुलनामा यस महिना ४ हजार ७४० पर्यटक कम आएका हुन् ।  

त्यस्तै, मे महिनाको तुलनामा जुन महिनामा पनि पर्यटक आउने क्रम घटेको देखिन्छ । गत जुन महिनामा ४६ हजार ९५७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा ६ हजार ६५१ कम हो । जुन महिनाको तुलनामा जुलाईमा पनि २ हजार २९५ जना कम पर्यटक नेपाल भित्रिएका छन् । गत जुलाई महिनामा ४४ हजार ४६२ जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । 

अध्यागमन विभागका सूचना अधिकारी अञ्जन न्यौपानेले अप्रिल महिनापछि पर्यटक आउने सिजन नभएकोले पनि पर्यटक आवागमनको संख्या घट्दै गएको बताए । उनले भने, ‘सिजन अनुसार पर्यटन आउने जाने हुन्छ । अहिले नेपालमा पर्यटक आउने सिजन होइन । अफ सिजन रहेका कारण पनि मे, जुन र जुलाईमा पर्यटक आवागमनको संख्या घटेको हो ।’  

पर्यटक आउने सिजन भएपछि फेरि नेपालमा विदेशी पर्यटक भित्रिने क्रम बढ्ने उनले बताए । सेप्टेम्बर महिनापछि नेपालमा पर्यटक आउने सिजन मानिने भएकोले यसपछि विदेशीहरु घुम्न आउने क्रम पुनः बढ्दै जाने सूचना अधिकारी अञ्जन न्यौपानको भनाई छ ।