शीर्षकहरू

ङादी ग्रुप पावरले साउन १८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

ङादी ग्रुप पावरले साउन १८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । 

जस अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । 

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म शेयर कायम रहेका सदस्यहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै आश्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ । यो हकप्रद शेयर भदौ ७ गतेसम्म विक्रीमा रहनेछ ।

हकप्रद शेयर निष्कासनका लागि गराईएको रेटिङ्गमा क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिमको संकेत गर्ने केयर एनपी डबल बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ ।