शीर्षकहरू

कृषि सहकारी संस्थाका अध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर

कृषि सहकारी संस्थाका अध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बुसहित ११ जना विरुद्ध मुद्दा दायर गरेको हो ।  

पशु सेवा विभाग पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयबाट विगत आर्थिक वर्षमा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रममा तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ०५ जिरीखिम्ति माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त भएको थियो । उक्त निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

सोहि उजुरीको आधारमा अख्तियारले अनुसन्धान हुँदा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा इष्टिमेट बमोजिम कार्य नै नगरी ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बढी भुक्तानी भएको देखिएको जनाएको छ । उक्त रुपैयाँ बराबरको माग दाबीसहित पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय हरिहरभवनका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बँजगाई र वरिष्ठ पशु चिकित्सक पूजा शर्मा विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।  उनीहरु तीनै जनासंग जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो माग गरिएको छ । 

आयोगका अनुसार किराँत याकथुम चुमलुङ (कियाचु) कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश कुमार लिम्बु, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेश बहादुर सोदेम्बाले पशु हाटबजार निर्माण गर्दा आफूलाई फाइदा पुग्ने काम गरेको पाईएको छ ।  आर्थि वर्ष २०७३/०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुमको जिरीखिम्ति माझगाँउमा आम्फुवा पशुहाटबजार निर्माण कार्यमा आफुहरुलाई फाइदा हुने काम गरेको हुने । साथै उनीहरुले हुँदै नभएको कामको गलत मनसाय राखी बदनियतपूर्ण तवरले नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने गरी बढी बिल भरपाई पेश गरी सोही विल भरपाईको आधारमा बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ । उनीहरुसंग जनही ४७ लाख ३७ हजार ६२९ रुपैयाँ बिगो माग गरिएको छ । 

लाइफ टाइम इन्जिनियरिङ सोलुसन प्राइभेट लिमिटेडका सञ्चालक रोशन भट्टराईले आम्फुवा पशुहाटबजार निर्माण कार्यमा वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन बनाएको पाइएको छ । बदनियतपूर्ण तरिकाले आफूहरुलाई फाइदा हुने र नेपाल सरकारलाई हानी पु¥याउने गरी भए गरेको कुरा लुकाई नगरेको कुरा भए गरेको भनी गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको आयोगको भनाई रहेको छ । 

त्यस्तै, सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झालाई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको आरोपमा उनी विरुद्ध आयोगले ७ लाख ५१ हजार रुपैयाँ बिगो मागसहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । 

त्यसैगरि, पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसहित तीन जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद, र सदस्य रामचन्द्र साह कानुलले विभिन्न शीर्षकको रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरुसंग ११ लाख ९५ हजार रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ ।