शीर्षकहरू

२७.५ प्रतिशतले बढ्यो आयात, व्यापार घाटा १५ खर्ब ७७ अर्ब नाघ्यो

२७.५ प्रतिशतले बढ्यो आयात, व्यापार घाटा १५ खर्ब ७७ अर्ब नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिबारेको तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो । चालू आर्थिक वर्षको ११ महिनामा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.२ प्रतिशत, १६.० प्रतिशत र ४६.१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाल लगायतका वस्तुको आयात घटेको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१.८ प्रतिशत र ३०.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, जिंक शिट लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चुलियो व्यापार घाटा 
चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा चुलिएको छ ।  आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २५.० प्रतिशतले वृद्धि भई रु.१५७७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २०० अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात  १७३ अर्ब २६ करोड रुपैयाँ बराबरको भएको थियो ।