शीर्षकहरू

कृषि प्रधान देश नेपाललाई विदेशको भर, ११ महिनामै ४३ अर्बको धान चामल आयात

कृषि प्रधान देश नेपाललाई विदेशको भर, ११ महिनामै ४३ अर्बको धान चामल आयात

काठमाडौं । प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाइँदै आएको छ । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाइँदै छ । राष्ट्रिय धान दिवसले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने अपेक्षा लिने गरिएको छ ।   

तर, मुलुकमा सबैभन्दा बढी उपभोग हुने खाद्य वस्तुको रूपमा रहेको धान चामलका लागि बर्सेनि ठूलो धनराशि खर्चिनु परिरहेको अवस्था छ । धान उत्पादन घट्दै जाँदा नेपालले बर्सेनि आयात गर्ने धान चामलको मात्रा बढ्दो क्रममा रहेको देखिन्छ । ‘कृषि प्रधान देश’ भनेर भनिदै आएको नेपाल धान चामलको लागि विदेशको भर पर्दै आएको छ ।  

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले अर्बौँ रुपैयाँ बराबरको धान चामल आयात गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ११ महिनामा २७ अर्ब भन्दा बढीको चामल नेपालले आयात गरेको छ । यस अवधिमा २७ अर्ब १२ करोड एक लाख २३ हजार रुपैयाँ बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । जसबाट सरकारलाई दुई अर्ब ५४ करोड ९२ लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।  

नेपालले भारत, चीन, भियतनाम, अमेरिका, दक्षिण कोरिया, थाईल्यान्डसहितका लगायत मुलुकबाट चामल आयात गर्दै आएको छ । यसमा पनि सबैभन्दा बढी भारतबाट चामल आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चालू आवको जेठ मसान्तसम्म भारतबाट २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरको ४९ करोड छ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको विभागले जनाएको छ । 

त्यस्तै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको भन्सार विभागले जनाएको छ । जसबाट सरकारले ७९ करोड ८० लाख ८७ हजार बराबरको राजस्व संकलन गरेको छ ।  

धान चामल बाहेक नेपालले चालू आवको ११ महिनामा करोडौं रुपैयाँ बराबरको धानको बीउ समेत आयात गरेको छ । ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी धानको बीउ आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।