शीर्षकहरू

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सहित ४ जना विरुद्ध मुद्दा दायर

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सहित ४ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारु सहित ४ जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले बर्दिया, राजापुर नगरपालिका वडा नं ७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारुसमेत ४ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा मुद्दा दायर गरेको हो ।

भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार संकलन भई टेण्डर प्रक्रियावमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी २ बर्दियालाई स्वीकृत गरी स्वीकृत भएबमोजिम लिलाम बिक्री भई आम्दानी रकम अनियमितता गरेको आयोगको आरोप छ । 

उक्त निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, राजापुर ७ बर्दियाका पदाधिकारीहरु अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाले आव  २०७४/०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत संकलन गरी लिलाम बिक्रीबाट समूहको खातामा जम्मा भएको रकम तुरुन्तै चेकबाट रकम दाखिला गर्नेलाई नै फिर्ता दिई २  लाख ७८ हजार रुपैयाँ सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । उक्त रकम बराबरकाे बिगो  मागदाबी गरिएकाे छ । 

यसैगरी सुरुची ट्रेड एण्ड सप्लायर्स, मगरागढी बर्दियाका प्रोपाइटर पारस गौतमले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाको आव २०७४/०७५ मा गैह्रकाष्ठ वन पैदावार बेत लिलाम सकार गरी सोबापत जम्मा गरेको  रकम समूहका पदाधिकारीहरुलाई प्रलोभनमा पारेर मिलोमतोमा चेक काट्न लगाई समूहको खाताबाट रकम निकाली २ लाख ७८ हजार रुपैयाँ  हिनामिना गरेको आयोगको आरोप छ । उनीहरू चार जना विरूद्ध आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।