शीर्षकहरू

शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर

शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरीसमेत ४ जना विरुद्ध आरोप–पत्र दायर गरिएको हो । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २०७२।०६।०२ गते गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम बिभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरी आयोगमा परेको थियो ।

उक्त उजुरी सम्बन्धमा अनुसन्धान हुँदा बोर्डका कार्यकारी निर्देशकले पदपूर्ति समितिको संयोजक रही न्यूनतम शैक्षिक योग्यता हेर्ने जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनुपर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुको दरखास्त फाराम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको पाइएको छ  । 

आयोगका अनुसार दरखास्त स्वीकृत गर्ने कर्मचारीहरुले प्रचलित कर्मचारी सेवा सम्बन्धी विनियमाली, २०६५ को अनुसूची(३ तथा मिति २०७२।०६।०२ गतेको सूचनामा उल्लेखित न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई छिपाई योग्यता नपुगेका आवेदकहरुको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत दिने गरेका थिए । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेकोले पदपूर्ति उपसमितिको संयोजक भई काम गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंक प्रसाद ओली उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को सोही दफा बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।